• २७ वैशाख २०८३, आइतबार

पाठ्यक्रममा नैतिक शिक्षा

blog

सरकारले विद्यालय तहमा नैतिक शिक्षा पुन: समावेश गर्ने तयारी गरिरहेको विषय अहिले सार्वजनिक बहसमा छ । यस पहलप्रति बौद्धिक तथा नैतिक वृत्तबाट व्यापक समर्थन देखिनु स्वाभाविक पनि हो किनकि समाजमा देखिएको असहिष्णुता, विभेद र जिम्मेवारीहीनता जस्ता प्रवृत्तिलाई ‘नैतिक शिक्षाको अभाव’ सँग जोडेर हेर्न थालिएको छ । भविष्यका नागरिकलाई नैतिक रूपले सजग, उत्तरदायी र सहिष्णु बनाउने उद्देश्यले यस्तो शिक्षा समावेश गर्ने सरकारको प्रयासलाई स्वागतयोग्य र नैतिक जनशक्ति उत्पादनको जिम्मेवार कदमका रूपमा बुझ्न सकिन्छ ।

नैतिक शिक्षाको अभाव खड्किए पनि कस्तो नैतिक शिक्षा ? कसको नैतिकता ? कसरी मापन र अध्यापन गर्ने ? ‘नैतिक’ भनिने मापदण्ड के के हुन् र कसलाई नैतिकवान् मान्ने ? यस्ता प्रश्न केवल सैद्धान्तिक नभई व्यावहारिक रूपमा पनि चुनौतीपूर्ण र जटिल पनि छन् । नैतिकता सधैँ सांस्कृतिक, सामाजिक र वैचारिक, जातीय र भौगोलिक सन्दर्भसँग गाँसिएको हुन्छ । एक समूहले स्वीकार गरेको नैतिक मूल्य अर्कोका लागि विवादास्पद हुन सक्छ । केही सामाजिक र सांस्कृतिक अभ्यासमा नैतिक लागेको विषय अन्यत्र अनैतिक लाग्ने सन्दर्भ पनि आउन सक्छन् ?

नैतिक शिक्षा केवल उपदेशात्मक वा एकपक्षीय नभएर, बहुलतामूलक, समावेशी र आलोचनात्मक चेतना विकास गर्ने, सामयिक चेत र नवीन विधि र प्रक्रियालाई सहज हुने खालको हुनु पर्छ । सार्वजनिक विमर्शमा व्यक्त हुने बौद्धिक, प्राज्ञिक र शिक्षाविद् र समाजका विचारक, चिन्तकका विभिन्न राय, सल्लाह र मत–अभिमतको व्यापक मूल्याङ्कन र विश्लेषण गर्दै साझा आधारमा उभिएका मानवीय मूल्य, जस्तै सहिष्णुता, समानता, न्याय, उत्तरदायित्व र करुणालाई केन्द्रमा राखेर नैतिकताका मानदण्ड निर्माण गर्न सकिन्छ । त्यही आधारमा विकसित पाठ्यक्रम मात्र समयानुकूल, अधिकतम समर्थनीय र प्रभावकारी बन्न सक्छ ।

नैतिक शिक्षा के हो ?

नैतिक शिक्षा के हो भन्ने प्रश्नलाई केवल ‘असल मान्छे बन्ने उपदेश’ मा सीमित गर्नु पर्याप्त हुँदैन । नैतिक शिक्षा स्पष्ट, सन्तुलित र प्राज्ञिक र सामाजिक हुनु पर्छ । नैतिक शिक्षा भनेको मानिसमा सही–गलत छुट्याउने विवेक, अरूको अस्तित्व र मर्यादाप्रति सम्मान तथा न्यायप्रति संवेदनशील व्यवहार विकास गराउने शैक्षिक प्रक्रिया हो । यसले अधिकार र कर्तव्य परस्पर पूरक हुन् भन्ने बोध गराउँछ । वाक् स्वतन्त्रता र वाक् मर्यादाबिचको सन्तुलनलाई सभ्य नागरिकताको आधार मान्छ र सामाजिक उत्तरदायित्वको भावना विशेषत: वृद्ध, रोगी, बालबालिका, अशक्त तथा दुर्बल वर्गप्रति संवेदनशीलता अभिवृद्धि गर्छ ।

नैतिक शिक्षा कुनै स्थिर वा सार्वकालिक परिभाषामा सीमित हुँदैन । यसको अर्थ समाज, समय र सन्दर्भ अनुसार परिवर्तनशील रहन्छ । स्वतन्त्रता, मर्यादा, कर्तव्य र अधिकार जस्ता मूल्य पनि सापेक्षिक हुन्छन्, जसको व्याख्या ऐतिहासिक, सांस्कृतिक र सामाजिक परिवेशले निर्धारण गर्छ । नैतिक शिक्षा समयसापेक्ष ज्ञान, चेतना र मूल्यहरूको आलोचनात्मक बोधमार्फत व्यक्तिलाई जिम्मेवार, सहिष्णु र विवेकशील नागरिक बनाउने प्रक्रिया हो भनेर बुझ्न सकिन्छ । 

कस्ता सामग्री ग्राह्य हुन्छन् ?

विविध समुदायको प्रतिनिधित्व गर्ने कथा र चित्र, लैङ्गिक समानता र समावेशितालाई प्रतिविम्बित गर्ने सामग्री र स्थानीय सन्दर्भ र वास्तविक अनुभवमा आधारित पाठ हुनु पर्छ । नैतिक शिक्षा भनेको किताबका पानामा सीमित सिद्धान्त मात्र हुनुहुँदैन । यसमा निम्नलिखित पक्ष समेटिनु पर्छ ।

व्यावहारिक र प्रयोगात्मक : केवल ‘साँचो बोल्नु पर्छ’ भनेर घोकाउनुभन्दा साँचो बोल्दा हुने लाभ र झुटको परिणामबारे प्रयोगात्मक छलफल गर्ने ।

मूल्यमा आधारित : इमानदारी, करुणा, परोपकार र राष्ट्रप्रेम ।

समतामूलक समाज : जातभात, उचनिचको भावना परित्याग गर्दै सहअस्तित्वमा आधारित मानवीय समाज निर्माणको अभ्यास गराउनु पर्छ ।

डिजिटल नैतिकता : वर्तमान युगमा सामाजिक सञ्जालको सही प्रयोग र साइबर सुरक्षासम्बन्धी नैतिकता सिकाउनु अनिवार्य छ ।

पर्यावरणीय नैतिकता : प्रकृति र प्राणी जगत्प्रति उत्तरदायी हुन सिकाउने शिक्षा ।

प्रोजेक्ट वर्क : विद्यार्थीलाई कुनै वृद्धाश्रम वा अनाथालयमा लगेर सेवा गर्न लगाउने, जसले गर्दा उनीहरूमा करुणा भाव जागोस् ।

किन आवश्यक छ ?

नैतिक शिक्षा किन आवश्यक छ भन्ने प्रश्न आजको तीव्र रूपान्तरणशील समाजसँग प्रत्यक्ष जोडिएको छ । प्रविधि, राजनीति र अर्थतन्त्र द्रुतगतिमा अघि बढिरहेका छन् तर मानवीय संवेदना, सहिष्णुता र उत्तरदायित्व त्यही अनुपातमा विकसित हुन सकेका छैनन् । यही सामाजिक खाडल र  असन्तुलनले हिंसा, विभेद, असमानता र सामाजिक अविश्वासलाई बढावा दिन्छ । यस अर्थमा नैतिक शिक्षा केवल पूरक विषय होइन, सामाजिक सन्तुलन कायम गर्ने आधारभूत आवश्यकताको विषय हो ।

नैतिक शिक्षालाई परम्परागत उपदेश, अनुशासन र अन्ध–आज्ञाकारितामा सीमित राख्नु पर्याप्त हुँदैन । यस्तो दृष्टिकोणले स्वतन्त्र सोच, आलोचनात्मक चेतना र बहुलतामूलक समाजका जटिल प्रश्नलाई समेट्न सक्दैन । आजको सन्दर्भमा आवश्यक नैतिक शिक्षा भनेको प्रश्न गर्न सिकाउने, भिन्नतालाई स्विकार्ने र न्याय तथा समानताप्रति सचेत बनाउने प्रक्रिया हो । यसका लागि नैतिकताका आधारभूत मानदण्डबारे व्यापक सार्वजनिक तथा बौद्धिक बहस अनिवार्य छ ।

विभिन्न दृष्टिकोणको आलोचनात्मक मूल्याङ्कन गर्दै साझा, समावेशी र समयानुकूल नैतिक आधार निर्माण गर्न सकिन्छ । यस्तो बहसबिनाको नैतिक शिक्षा न त जीवित रहन्छ, न प्रभावकारी नै हुन्छ । साँचो नैतिक शिक्षा त्यही हो, जसले विभेद चिनाउँछ र हटाउन सिकाउँछ, समानता केवल शब्दमा होइन व्यवहारमा उतार्छ, विद्यालयलाई नैतिकताको अभ्यासस्थल बनाउँछ । 

नयाँ आयाम

पहिलेको नैतिक शिक्षा ‘बुबाआमाको आज्ञा मान, झुट नबोल,  गुरुलाई सम्मान गर तर प्रश्न नगर, चोरी नगर’ जस्ता सरल निर्देशनमा आधारित थियो । आजको समाज जटिल छ । यहाँ लैङ्गिक समानता, जातीय सम्मान, समावेशिता, पहिचानको अधिकार जस्ता विषय केन्द्रमा छन् । गुरुलाई उचित प्रश्न गर्ने समय छ । बुबाआमा र आफूभन्दा ठुलाको अविवेकी वचन मान्नु पर्छ भन्ने मान्यता छैन । आवश्यक र उचित वचन जसको पनि मान्नुपर्ने र अनावश्यक कुराको प्रतिरोध र विरोध गर्ने शैलीको अपरिहार्यता देखिएको छ । गलत कुरा जसको भए पनि गलत हो भन्ने चेत निर्मित भएको समय छ । यहाँ एउटा विषय स्मरणीय छ । कसको प्रतिरोध कसरी गर्ने ? प्रतिरोधको पनि यथोचित र जिम्मेवार शैली र तरिका सिकाउनु पर्छ ।

आजको नैतिक शिक्षा यस्तो हुनु पर्छ भन्ने केही दृष्टान्त यहाँ प्रस्तुत छ : बच्चाको आँखाबाट संसार बुझ्ने, महिलाको अनुभवबाट समानता सिक्ने, दलित, जनजाति, मुस्लिम र सीमान्तकृत र अन्य लैङ्गिक पहिचान भएकाहरूको दृष्टिकोणबाट न्यायको अर्थ पुनर्परिभाषित गर्ने, अपाङ्गता भएका व्यक्तिको अनुभवबाट समावेशिता बुझ्ने, मधेशीको अनुभूतिबाट रङ्गीय विभेद पर्गेल्ने, ज्येष्ठ नागरिकको अनुभव र इतिहासलाई ग्रहण गर्ने जस्ता विविध आयाम र दृष्टिकोण समेटिएको ‘नैतिक शिक्षा’ बालबालिकालाई दिनु अत्यावश्यक छ । 

नैतिकताको पहिलो अभ्यासस्थल

जसले नैतिक शिक्षा पढाउने दाबी गर्छन्, त्यही विद्यालय विभेदको अभ्यासस्थल बनेका थुप्रै उदाहरण छन् । गुरुहरूद्वारा नै जातीय रूपमा बालबालिका प्रताडनामा परेका छन् । विद्यालयले लैङ्गिक विभेद व्यवहारत: सिकाएको छ जस्तै : बच्चालाई स्कुलमा ल्याउन लैजान,  हेरचाह गर्न आमा सक्रिय हुन्छिन् तर फारममा ‘अभिभावक’ भन्नासाथ बुवाको नाम मात्र लेखिन्छ । पाठ्यपुस्तकका चित्रमा बुवा पढिरहेका र आमा सिँगारिँदै गरेको देखाइन्छ । यी साना देखिने अभ्यासले बच्चामा गहिरो सन्देश दिन्छ, “पुरुष प्रधान, महिला सहायक” भन्ने । यहीँबाट विभेदको बिउ रोपिन्छ । सुधारको सुरुवात माथिबाट हुनु पर्छ, त्यसपछि मात्र विद्यार्थीले सिक्ने नैतिकता अर्थपूर्ण बन्छ ।

कसलाई नैतिक शिक्षा आवश्यक ?

विद्यार्थीभन्दा पहिले शिक्षक, अभिभावक र नीति बनाउनेलाई नैतिक शिक्षा आवश्यक छ । किनभने पाठ्यक्रम बनाउनेले समावेशी सोच राखेन भने किताब विभेदी हुन्छ । शिक्षकले व्यवहारमा समानता नदेखाए पाठ बेअर्थ हुन्छ । अभिभावकले घरमै विभेद सिकाए विद्यालयले सुधार्न सक्दैन । त्यसैले नैतिक शिक्षा पढ्ने विषय मात्र  होइन संस्कृति बन्नु पर्छ ।

कसले र कसरी पढाउने ? 

हाम्रो समाजको तितो  सत्य के हो भने ? आजको समाजमा नैतिक शिक्षाको सबैभन्दा ठुलो अभाव विद्यार्थीमा होइन, विद्यार्थीलाई मार्गदर्शन गर्ने संरचनामा छ । त्यो संरचना बालबालिकाका लागि घर, विद्यालय र समाज हो । सुधारको सुरुवात माथिबाट हुनु पर्छ । त्यसपछि मात्र विद्यार्थीले सिक्ने नैतिकता अर्थपूर्ण बन्छ । विद्यालय तहमा नैतिक शिक्षा केवल एउटा विषय मात्र होइन, यो एउटा असल नागरिक निर्माण गर्ने मेरुदण्ड हो । 

नैतिक शिक्षा कुनै एउटा शिक्षकको मात्र जिम्मेवारी होइन, यो संयुक्त प्रयास हो । शिक्षक स्वयम् एक ‘रोल मोडल’ हुनु पर्छ । शिक्षक आफैँ अनुशासित छैन भने उसले दिने उपदेशको कुनै अर्थ रहँदैन । त्यसै गरी घर पहिलो पाठशाला भएकाले अभिभावकले आफ्ना नानीबाबुले विद्यालयमा सिकेका कुरालाई घरव्यवहारमा उतार्न अभिभावकको भूमिका ९० प्रतिशत हुन्छ । समाजका लब्धप्रतिष्ठित व्यक्ति र नेतृत्व तहले प्रदर्शन गर्ने आचरणले विद्यार्थीलाई प्रभाव पार्छ । 

नैतिक शिक्षा घोक्ने विषय होइन, अभ्यास गर्ने अनुभव गर्ने र अनुकरण गर्ने प्रक्रिया हो । त्यसैले कथामूलक सिकाइ, भूमिका खेल, वास्तविक जीवनका केस स्टडी, विवाद र छलफल जस्ता तरिका अपनाउनु पर्छ ।

निष्कर्ष

नैतिक शिक्षा ‘माक्र्स’ (अङ्क) ल्याउनका लागि होइन, ‘मार्क’ (छाप) छोड्नका लागि हुनु पर्छ । शिक्षाको अन्तिम लक्ष्य भनेकै मानिसलाई विवेकशील बनाउनु हो । कुनै व्यक्ति शिक्षित छ तर उसमा नैतिकता छैन भने त्यो समाजका लागि अझ बढी खतरनाक हुन सक्छ । विद्यालयमा ‘शिक्षाका लागि संस्कार’ भन्ने मूल मन्त्रका साथ नैतिक शिक्षालाई अनिवार्य र व्यावहारिक बनाइनु पर्छ ।   

लेखक बाट थप