• २८ वैशाख २०८३, सोमबार

विश्वविद्यालयको प्राज्ञिक उन्नयन

blog

राजनीतिक भागबन्डाका कारण त्रिभुवन विश्वविद्यालय धराशायी बन्दै गइरहेको आरोप लागिरहेका बेला पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले उपकुलपति नियुक्तिका लागि खुला आह्वान गरेपछि ४३ जनाले आवेदन दिएका थिए । दरखास्त आह्वान गरिसकेपछि २०८० माघ १५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले यससम्बन्धी थप परामर्शका लागि शिक्षाविद् केदारभक्त माथेमा, प्राडा विद्यानाथ कोइराला, प्राडा चैतन्य मिश्र, डा. पीताम्बर शर्मा र प्रा. कृष्ण खनाललाई बोलाएर त्रिविमा थप सुधारका लागि के गर्न सकिन्छ भनेर सुझाव माग्नुभएको थियो । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था हटाउनुपर्ने, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्नेलगायतका विषय राख्दै अहिलेका आवेदनकर्ताबाट विश्वविद्यालयको सुधार हुन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने शिक्षाविद्ले धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले तपाईंहरूमध्ये कसैलाई सिफारिस गरुँ त भनी प्रश्न गर्नुभयो । शिक्षाविद्ले प्रश्न गरे, दरखास्त आह्वान गरिसक्नु भयो, अब कसरी हुन्छ ? दाहालले अगाडि थप्नुभयो, “तैपनि बल गर्छु नि ।” अन्ततः दाहालको केही लागेन । १० फागुन २०८० मा उपकुलपति नियुक्त भएका प्राडा केशरजङ्ग बराल १६ चैत २०८१ मा राजीनामा दिएर बाहिरिनुभयो । त्यसपछि रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल २५ असार २०८२ मा नियुुक्त हुनुभएको थियो । 

१९ वैशाख २०८३ मा जारी अध्यादेशसँगै सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि सरकारले त्रिविसहित आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले दिएको सबै विश्वविद्यालयबाट प्रधानमन्त्री उपकुलपति रहने व्यवस्था हटाउनुपर्ने सुझावविपरीत सरकारले ल्याएको अध्यादेशबाट प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपतिका रूपमा थप शक्तिशाली बनाएको छ । यति मात्र होइन, नयाँ व्यवस्था अनुसार अब प्रधानमन्त्री हट्नासाथ विश्वविद्यालयका पदाधिकारी पनि स्वतः हट्ने छन् । उपकुलपति मात्र होइन, रजिस्ट्रार, रेक्टर, डिन जस्ता पदमा ‘मेरिटोक्रेसी’ (योग्यताका आधार) मा नियुक्ति गर्नु पर्छ ।     

कुनै पनि देशका विश्वविद्यालय भनेका समाजका लागि आवश्य पर्ने जनशक्ति उत्पादन गर्ने निकाय हुन् । तिनै दक्ष जनशक्तिमा समाजको विकास निर्भर हुन्छ । विकासको प्रमुख पूर्वाधार भनेको शिक्षा नै हो । जुन मुलुकले विश्विद्यालयबाट दक्ष जनशक्ति तयार पारेका छन्, तिनले विकासको फड्को पनि मारेका छन् । यसरी हेर्दा हाम्रा विश्वविद्यालयबाट हरेक वर्ष जनशक्ति त तयार भएका छन् तर तिनले मुलुकको विकासमा खासै योगदान दिन सकेका छैनन् । हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । बेरोजगार उत्पादन गर्ने यी कारखानालाई धारिलो बनाएर विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नु अहिलेको सबैभन्दा ठुलो चुनौती हो । विश्वविद्यालय हाँक्ने हिम्मतका साथ उपकुलपतिका लागि आवेदन दिएका र दिँदै गरेकाले हिजोका दिनमा जस्तै सपनाका खाका बुनेर प्रस्ताव त पेस गर्लान् नै । खास गरी उच्च शिक्षाको ८० प्रतिशत भार धान्दै आएको त्रिविको आजको लथालिङ्ग अवस्थामा कसरी सुधार ल्याउने भन्ने प्रमुख विषय हो । नयाँ नेतृत्वले राजनीतिक स्वार्थ छाडेर मात्र हुँदैन, व्यवसायी र व्यक्तिगत स्वार्थबाट पनि मुक्त हुनै पर्छ । आमूल सुधारको प्रतिबद्धताका साथ प्रवेश गरेकाको राजनीतिक मात्र होइन, व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण त्रिवि आजको अवस्थाबाट गुज्रिएको हो । 

सुधारको खाँचो 

विश्वविद्यालयको गुणस्तर सुधारका लागि शिक्षक योग्य र क्षमतावान् हुनै पर्छ । शिक्षकको शिक्षण दक्षता कमजोर हुँदै गएको छ । त्यस्ता शिक्षक कक्षा कोठामा पुगेका त होलान् तर अनुसन्धान क्षमता र पढाइलेखाइमा उनीहरू धेरै पछाडि छन् । जसको ज्वलन्त उदाहरण हो, पछिल्लो वर्ष त्रिविले खुलाएको प्राध्यापक र सहप्राध्यापकको बढुवासम्बन्धी विज्ञापन । जुन विज्ञापन प्रकाशित हुनासाथ प्राध्यापक र सहप्राध्यापकका प्रतिस्पर्धी अधिकांश शिक्षकको भिड पुस्तक प्रकाशनका लागि बाजबजारका छापाखानामा देखिएको थियो । अर्थात् बर्सौंदेखि पढाइलेखाइमा आँखा चिम्लेर बसेका शिक्षक बढुवा प्रयोजनका लागि मात्र पुस्तक प्रकाशन गर्ने गर्छन् । अझ रोचक पक्ष त के भने केही थान मात्र प्रकाशित अधिकांश त्यस्ता पुस्तक न पुस्तकालयमा भेटिन्छ न त बजारमा । 

विश्वविद्यालयको ध्यान अनुसन्धानमा केन्द्रित हुनु पर्छ । यस्तो अनुसन्धानबाट प्राध्यापक तथा विद्यार्थी मात्र होइन सिङ्गो समाज लाभान्वित हुन जान्छ । यसबिचमा हाम्रा विश्वविद्यालयमा भएका कुन अध्ययन अनुसन्धानले आमनागरिकको जीवनमा असर गरेको छ त भनेर गहन छलफल हुनु आवश्यक छ । त्यसका लागि प्राध्यापक तथा विद्यार्थीलाई बढीभन्दा बढी अनुसन्धान परियोजनामा संलग्न गराउने, जर्नल प्रकाशन गर्ने जस्ता प्राज्ञिक काममा सहभागी गराउनु पर्छ । स्रोतसाधनबिना अनुसन्धान कार्य अघि बढ्न सक्दैन । त्यस कारण विश्वविद्यालयको अनुसन्धानका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नु पर्छ । अनुसन्धानसँगै जोडिने अर्को विषय हो, पुस्तकालय । हाम्रा शैक्षिक संस्थाका पुस्तकालयमा पर्याप्त पूर्वाधार छैन । कतिपय क्याम्पसमा आधुनिक ई लाइब्रेरी छैन । ई लाइब्रेरी नहुँदा आधुनिक जर्नलमा शिक्षक विद्यार्थीको पहुँच पुग्दैन । अर्को महत्वपूर्ण पक्ष बिनाइन्टरनेट शिक्षक विद्यार्थीले ई लाइब्रेरी प्रयोग गर्न सक्दैनन् । शिक्षक विद्यार्थीलाई उच्चस्तरीय इन्टरनेट तथा डिजिटल प्लेटफर्म उपलब्ध गराइनु पर्छ । जबकि आजका दिनमा हाम्रो विश्वविद्यालयका अधिकांश कक्षा कोठामा इन्टरनेटको पहुँच नै छैन । शिक्षक विद्यार्थीलाई आआफ्नो विषयमा बाहिरी संसारमा के कस्ता काम भइरहेका छन् भन्ने विषयमा जानकारी गराउने उपाय भनेको अन्तर्राष्ट्रिय सहकार्य हो । त्यसका लागि विदेशी विश्वविद्यालयसँग आवश्यक समन्वय गरी अन्तर्राष्ट्रिय जर्नल र सम्मेलनमा सहभागिता बढाउनु पर्छ । संयुक्त अनुसन्धानमा सहभागी गराउने तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रमले शिक्षक विद्यार्थीमा ज्ञानको दायरा फराकिलो बनाउन सकिन्छ ।

विश्वविद्यालयमा कतिपय विषयका बर्सौं पुराना र असान्दर्भिक पाठ्यक्रम आजको दिनमा पनि पढाइ भइरहेको छ । त्यस्तो पाठ्यक्रम परिमार्जन गर्न  विश्वविद्यालयको नेतृत्वको प्रमुख हात हुन्छ । यद्यपि कुन कुन विषयको पाठ्यक्रम परिमार्जन गर्नु पर्छ भन्ने नेतृत्वलाई थाहा नहुन सक्छ । डिन कार्यालय र केन्द्रीय विभागमार्फत सम्बन्धित विषयका पाठ्यक्रममा के कस्तो परिमार्जन आवश्यक छ भन्ने नेतृत्वले थाहा पाउनै पर्छ । अर्थात् स्थानीय आवश्यता र विश्वव्यापी प्रतिस्पर्धा दुवैलाई ध्यानमा राखेर नयाँ पाठ्यक्रम तयार गर्नु पर्छ । सूचना प्रविधि आजको दिनको प्रमुख विषय भएको छ । कृत्रिम बुद्धिमत्ता, अनुसन्धान पद्धति, सञ्चार सिप, उद्यमशीलता जस्ता विषयलाई पाठ्यक्रममा समावेश गर्नु पर्छ । जसले गर्दा भोलिका दिनमा यहाँका विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकून् । 

त्रिविमा पछिल्लो समय विद्यार्थी आकर्षित भएका कतिपय यस्ता विषय पनि छन् जहाँ शिक्षक पर्याप्त नभएको मात्र होइन, एक जना पनि पूर्णकालीन शिक्षक छैनन् । क्याम्पसका कतिपय विभाग बर्सौंदेखि आंशिक शिक्षकका भरमा चल्दै आएका छन् । अझ रोचक पक्ष त के छ भने कतिपय यस्ता विषय छन्, जहाँ एक जना पनि विद्यार्थी छैनन् तर शिक्षक छन् । विश्वविद्यालयको यस्तो यथार्थ बुझेर पनि विवेक प्रयोग गरी त्यस अनुसार निर्णय गर्न नसक्नु नेतृत्वको कमजोरी पक्ष हो ।  

यी र यस्ता कतिपय विषयमा सुधार गर्न सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका विश्वविद्यालयको नेतृत्वको हुन्छ । व्यक्तिगत वा दलीय स्वार्थ बोकेर विश्वविद्यालयको नेतृत्वमा पुगेका व्यक्तिले यी र यस्ता विषयलाई प्राथमिकतामा राखेकै  हुँदैनन् । हिजोका दिनमा त्रिवि सुधारको कार्ययोजनासहित नेतृत्वमा पुगेका कतिपयको ध्यान निजी शैक्षिक संस्था पोस्नमा केन्द्रित भएको थियो । जसका कारण त्रिविका आङ्गिक क्याम्पसका कक्षाकोठा रित्तो हुँदा निजी शैक्षिक संस्थाका कक्षाकोठा भरिभराउ भएका थिए, भरिभराउ छन् । नेपालको सन्दर्भमा विश्वविद्यालय सुधार केवल नीतिगत विषय होइन; यो ज्ञान उत्पादन र राष्ट्रिय विकाससँग प्रत्यक्ष जोडिएको विषय हो । विश्वविद्यालयलाई केवल प्रमाणपत्र वितरणमात्र नभई ज्ञान र अनुसन्धानको केन्द्र बनाउनु प्राज्ञिक उन्नयनको प्रमुख उद्देश्य हुनु पर्छ ।