• ९ मंसिर २०८१, आइतबार

‘शिल्प तथा डिजाइन’ विषयको अध्ययन सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच बिहीबार ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारीपत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले हस्ताक्षर गर्नुभयो । 

कार्यक्रममा बोल्दै विश्वविद्यालयका कामु डिन सहप्राध्यापक इकुमाया पुनले शिल्प तथा डिजाइन शैक्षिक पाठ्यक्रम नेपालमै पहिलो पटक सुरु भएको र यसलाई प्राज्ञिक रूपमा अगाडि बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको यस सम्झौताले आउने दिनमा थप टेवा पु¥याउने बताउनुभयो । 

त्यसै गरी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका प्राडा मनीष पोखरेलले नेपालमै पहिलो पटक काठमाडौँ विश्वविद्यालय अन्तर्गत (स्कुल अफ इन्जिनियरिङ) र (स्कुल अफ आर्ट्स) मिलेर यस शिक्षाको आरम्भ गरेको यो एउटा ऐतिहासिक क्षण भएको जिकिर गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच भएको सम्झौता नेपालको शैक्षिक इतिहासमा एउटा माइलस्टोनका रूपमा चिनिने धारणा राख्नुभयो । 

काठमाडौँ विश्वविद्यालयको (स्कुल अफ एजुकेसन) का डिन प्राडा बालचन्द्र लुइँटेलले परम्परागत रैथाने शिल्पले हाम्रो समाजलाई अगाडि बढाउन भूमिका खेलेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका मन्त्री माननीय रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच सम्झौताले नयाँ जिम्मेवारी थप्नुका साथै मुलुकलाई पनि नयाँ पहिचान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्तै कार्यक्रमलाई प्रदेश सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस सम्झौताले नेपालको शिक्षामा नयाँ सोचको विकास गर्ने बताउनुभयो । उहाँले रैथाने  ज्ञान र सिपको महìवको उल्लेख गर्दै आगामी दिनमा एक्सन प्लान बनाएर उपलब्ध स्रोत र साधनको उपयोगबाट कार्यव्रmम गर्दै जाने र शिल्प तथा डिजाइनका सन्दर्भमा पनि विद्यार्थीलाई  फिल्ड भिजिटसमेत गराउने बताउनुभयो । 

कार्यक्रमका सभापति तथा विश्वविद्यालयका उपकुलपति भोला थापाले आफूहरूले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेको बताउनुभयो । उहाँले रैथाने कला, परम्परागत कला, ज्ञान र सिपलाई जोडेर आगामी दिनमा हामी अगाडि बढ्ने धारणा राख्नुभयो ।  समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, सौरगङ्गा दर्शनधारी, सञ्जय बान्तवा, अरुणा हिङमाङ प्राज्ञसभा सदस्यहरू झिग्मे लामा, चन्द्रकुमार राई तथा कला क्षेत्रसँग सरोकार राख्ने कलाकार, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।