• ३ असार २०८२, मङ्गलबार

‘विकास कल्याणकारी हुनु पर्छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) को संयुक्त आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ । त्यसैले उहाँले भन्नुभयो, “निराशा होइन, आशा सञ्चारको वातावरण बनाउनु आवश्यक छ ।”

समस्याको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिनुभयो । उहाँले सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो,  “विकास भनेको भौतिक र अभौतिक दुवै आयामलाई समेट्ने प्रक्रिया हो । त्यसैले विकास सबैका लागि कल्याणकारी हुनु पर्छ ।”