नेपाल प्रेस युनियनले देशभर चलाएको सय दिने सदस्यता विशेष अभियान लुम्बिनी प्रदेशमा सुरु भएको छ । यो अभियान सुरु गर्ने लुम्बिनी प्रदेशमा पश्चिम नवलपरासीमा पहिलो जिल्ला र देशभरमा पश्चिम नवलपरासी १८ औँ जिल्ला हो ।
मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।
अभिनेतृ केकी अधिकारी अभिनीत चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट प्रदर्शन हुँदै छ । चलचित्रमा उहाँ मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा देखिनुभएको छ । भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमान्को दमन र खप्की सहेर बस्ने दिदी बन्नुभएको छ ।
ताप्लेजुङको थिङलाबुका अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ । पालिकाले आगलागीबाट प्रभावित हुनु भएका स्थानीय पेम्बा शेर्पालाई आर्थिक सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जानुहुने भएको छ । भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भइनसकेको अवस्थामा प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जानुहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ०१ पैसा र बिक्रीदर १३९ रुपियाँ ६१ पैसा कायम भएको छ ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकामा निर्माण गर्न लागिएको इन्धन भण्डारणगृहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । काठमाडौँ विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभागले तयार गरेको डिपिआर बुधबार नेपाल आयल निगमलाई हस्तान्तरण गरियो ।
नबिल बैङ्क लिमिडेट युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ को बेस्ट बैङ्क फर सस्टेनेबल फाइनान्स अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड रहेको नबिल बैङ्कले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावित भारत भ्रमण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको संयोजकत्वमा गठित सङ्घर्ष समितिले प्रधानमन्त्री ओलीलाई आसन्न भारत भ्रमण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर गर्न आग्रह गरेको हो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सभाका सदस्यले नेपाल स्वास्थ्य सेवा, संसद् र पशु चिकित्सक समूहलाई सङ्घीय निजामती सेवा अन्तर्गत राख्न जोड दिनुभएको छ । उहाँहरूले विधेयक मसौदा गर्दा दुवै सेवा र समूहलाई भूलवश वा बुझेरै नराखिएको सम्बन्धमा प्रस्ट्याउन माग गर्नुभएको हो ।
सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको स्पष्ट पारेको छ । नेपालको सहमतिबिना भारत र चीनबिच उक्त क्षेत्र हुँदै व्यापार गर्ने सहमति भएपछि परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा जानुभएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताउनुभएको छ ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित सितापुरमा बुधबार स्थानीय ३२ बर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।