• १० भदौ २०८२, मङ्गलबार

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

blog

राममणि दाहाल
मकवानपुर, भदौ ५ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ फुट्सल चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–३ फुट्सल चोकस्थित भित्री सडकखण्डमा मक्राञ्चुलीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नं.को मोटरसाइकलले ठक्कर दिएका पैदलयात्री सोही स्थानकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको उपचारको क्रममा बुधबार साँझ मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलले बुधबार बिहान ठक्कर दिएर घाइते भएका न्यौपानेको हेटौँडा अस्पतालमा उपचारपछि दिउँसो ३ बजे थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा अस्पतालले शल्यक्रिया गर्न निमल्ने र अवस्था गम्भीर रहेको बताएपछि पुनः बिरामीलाई हेटौँडामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

उहाँले घाइते न्यौपानेलाई चितवनबाट फिर्ता गरी बुधबार राति ७ः१० बजे मकवानपुर सहकारी अस्पतालमा ल्याइ उपचार भइरहेकोमा ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुली बस्ने वर्ष २४ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।