• ८ भदौ २०८२, आइतबार

लुम्बिनी प्रदेशमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरू

blog

परासीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान आयोजित कार्यक्रम । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, भदौ ५ गते । 
नेपाल प्रेस युनियनले देशभर चलाएको सय दिने सदस्यता विशेष अभियान लुम्बिनी प्रदेशमा सुरु भएको छ  । यो अभियान सुरु गर्ने  लुम्बिनी प्रदेशमा पश्चिम नवलपरासीमा पहिलो जिल्ला र देशभरमा पश्चिम नवलपरासी १८ औँ जिल्ला हो ।

पुराना सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता बनाउने उद्देश्यले युनियनले यो अभियान केन्द्र, प्रदेश र जिल्ला तहमा सञ्चालन गरिरहेको छ ।

परासीमा आयोजित एक कार्यक्रममार्फत युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले यो अभियानले पत्रकारिता क्षेत्रमा आउन चाहनेहरूलाई सहज बनाउने बताउनुभयो । यद्यपि, उहाँले पत्रकारिता छोडेका वा पेशामा नरहेका व्यक्तिहरूको सदस्यता नवीकरण वा नयाँ सदस्यता वितरण नगरिने स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक पत्रकारहरूको आस्थाको रूपमा रहेको प्रेस युनियनले सधैँ गणतन्त्रलाई संस्थागत गर्न कलम चलाउँदै आएको उहाँले बताउनुभयो । अहिले देश बिचौलियाको हातमा गएको भन्दै उनीहरूका विरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो। युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

जिल्लामा हाल युनियनमा एक सयभन्दा बढी सदस्यहरू आबद्ध छन् । यो अभियान कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ ।