बागलुङ कारागारमा पुस्तकालय
जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागारमा पुस्तकालय’ स्थापना गरिएको हो । सो पुस्तकालयको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गर्नुभएको हो । उहाँले कैदीबन्दीको ज्ञान, सीपको विकास र मानसिकता स्वस्थ तथा परिवर्तनका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक सङ्घसंस्थाले उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उहाँले क्षणिक आवेग, क्रोध वा परिस्थितिजन्य घटनाले जेलजीवन बिताएका नागरिकको मनोवृत्तिमा सुधार जरुरी रहेको बताउनुभयो ।
अस्पतालमा बिरामीको चाप, बालबालिकामा ज्वरो र श्वास–प्रश्वासको समस्या
विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र श्वास फेर्न असजिलो हुने बिरामी बालबालिकाको चाप बढेको छ । अस्पतालमा दैनिकजसो यस्तो लक्षण भएका बिरामी बालबालिका भर्ना भए पनि यसको कारण भने खुलेको छैन । कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीका अनुसार दैनिक २५ जनाको सङ्ख्यामा बिरामी बालबालिका भर्ना हुने गरेका छन् । परीक्षण गर्न आउनेको सङ्ख्या त्योभन्दा तेब्बर छ । अभिभावकले लिएर आएका यस्ता बालबालिकामा समान प्रकृतिको लक्षण देखिएको छ ।
विपद् सूचना प्रवाह गर्न वडामा सञ्चार सेट
तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्नेभएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसँग सूचना समन्वय गर्नका लागि सञ्चार सेट वितरण गर्न लागिएको हो ।
हिंसा रोक्न युवा महिला क्रियाशील हुने
मधेस प्रदेशमा बढ्दो महिला हिंसाको कारण दाइजो प्रथा रहेकाले यसको न्यूनिकरण गर्न अखिल नेपाल महिला संघले युवा महिला सघ गठन गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा घरपरिवार, समाज र पुरानो संस्कृतिका कारण समेत हिंसा बढिरहेकाले यसतर्फ अखिल नेपाल महिला संघको ध्यान केन्द्रित भएको सो संस्थाले जनाएको छ ।
कर्णाली नदीको जोखिम टीकापुरमा अझै उस्तै
२०७८ कात्तिक २ गतेको बेमौसमी वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित टीकापुरमा यसवर्ष पनि जोखिम घटेको छैन् ।
पाँचौँ पटक सडकको रुट फेरियो
राप्ती लोकमार्गको सल्यान–रुकुम सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढाँरेगैराको रुट २२ वर्षमा पाँचौँ पटक फेरिएको छ । पटक पटक एउटै स्थानमा रुट फेर्दा सडक छेउका जग्गा सखाप भएको स्थानीय बासिन्दाले बताएका छन् ।
विस्थापित शिक्षकको पुनर्नियुक्ति
दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।
एघार पुल निर्माण
कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा ११ वटा पुल निर्माण सम्पन्न गरिएको छ । करिब एक अर्बको लागतमा महìवपूर्ण पुलहरू निर्माण गरिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० र पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले एक पुल गरेर ११ पुल निर्माण गरिएको हो । यससँगै सडक डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० मा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य रहेको इन्जिनियर पियूस चटौतले बताउनुभयो ।
आँखामा ‘कलरभिजन’को समस्या
दाङमा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनका चालकहरूको आँखा जाँच गर्दा ११ प्रतिशतभन्दा बढीमा ‘कलरभिजन’ (रङ छुट्याउने) को समस्या देखापरेको छ । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय दाङले सडकमै चालकको आँखा जाँच अभियान सुरु गरेको हो ।