• ४ माघ २०८१, शुक्रबार

स्थानीय तहको सूचनामा युवाको पहुँच न्यून

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ ८ गते । मधेश प्रदेशको स्थानीय तहहरूको सूचनामा युवाको पहुँच न्यून रूपमा देखिएको महोत्तरीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । अकाउन्टाबिलिटी ल्याब नेपालले जलेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा सर्वेक्षण नतिजा सार्वजनिक गर्दे मधेश प्रदेशमा सूचनाको पहुँचमा युवाहरूको सङ्ख्या नगण्य देखिएको जनाएको छ । 

सो संस्थाका प्रतिनिधि राकेशप्रसाद चौधरीले अन्य प्रदेशको पालिकाहरूमा ५० प्रतिशतभन्दा बढी युवाको पहुँच स्थानीय तहको सूचनामा रहेको देखिएकोमा मधेश प्रदेशमा सो सङ्ख्या न्यून देखिएको बताउनुभयो । उहाँले कार्यक्रम गरिएको जलेश्वर नगरपालिकामा २९ प्रतिशत युवाको मात्रै सूचनामा पहुँच देखिएको बताउनुहुँदै सूचना दिन र लिने दुवै पक्षमा समस्या देखिएको बताउनुभयो । उहाँले जलेश्वर नगरपालिका क्षेत्रका ४५२ युवाबिच गरिएको सर्वेक्षणमा २९ प्रतिशत युवाको सूचनामा पहुँच रहे पनि ८९ प्रतिशतले कठिनाइ भोग्नुपरेको र त्यसमध्ये ५९ प्रतिशतले पर्याप्त सूचना नपाएको देखिएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी सतिशकुमार महतोले युवालाई सूचनाको महत्त्व बुझ्न आग्रह गर्दै आवश्यक सूचना प्राप्तिका लागि अग्रसरता देखाउन आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सूचना पाउन युवाले कठिनाइ भोग्नुपरेको तथ्यलाई अस्वीकार गर्ने अवस्था नरहेको इन्सेक प्रतिनिधि ममता विश्वकर्माले बताउनुभयो । उहाँले एउटा सूचनाको लागि धेरै दिन दौडाउने, नानाभाँतीका कुरा गर्ने, दलीय र पक्षीय कुरा गर्ने जस्ता समस्याले गर्दा कतिपय युवाहरू सूचना माग्न हच्किएको जानकारी दिनुभयो । 

कार्यक्रममा युवा अभियन्ता अकबर अन्सारीले युवा तथा युवालक्षित कार्यक्रममा सरकारी कार्यालयको बेवास्ताले गर्दा पनि सूचनाको पहुँचको अवस्था देखाउने गरेको बताउनुहुँदै सूचना प्राप्ति सहजरुपमा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अकाउन्टाबिलिटी ल्याबकी प्रतिनिधि सूचिता श्रेष्ठले नेपालबाट सुरु भएको यो संस्थाको अभियान १३ देशमा पुगिसकेको जानकारी दिइन् । 

त्यस्तै सबिन महर्जनले युवाको पहुँच सूचनामा बढाउन स्वयं युवा अग्रसर हुनुपर्ने जिकिर गरिन् । स्थानीय क्याम्पसमा अध्ययनरत विद्यार्थी, युवा, कर्मचारी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक लगायतको उपस्थिति थियो ।