• १३ मंसिर २०८१, बिहिबार

१०० तोला चाँदी र १० तोला हिरा

श्रममन्त्री अर्यालको १५० तोला सुन, दुई करोड १८ लाख नगद

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल । फाइल तस्बिर

काठमाडौँ, जेठ ८ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन भएको सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको लिस्टमा सबैभन्दा बढी सुन अर्यालको देखिएको हो। 

उहाँसँग सय तोला चाँदी र १० तोला हिरासमेत भएको देखिएको छ। सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। 

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ। 

अर्याल र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा जग्गा भएको खुलेको हो। सबै जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। 

यस्तै अर्यालको विभिन्न बैङ्कमा दुई करोड १८ लाख नगद भएको खुलेको छ। उहाँसँग नगद मौज्दात, सेयर र गाडीसहित सम्पत्ति रहेको विवरणमा उल्लेख छ।