• ७ जेठ २०८१, सोमबार

अस्पतालमा बिरामीको चाप, बालबालिकामा ज्वरो र श्वास–प्रश्वासको समस्या

blog

नवराज कट्टेल

विराटनगर, साउन १४ गते ।  विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र श्वास फेर्न असजिलो हुने बिरामी बालबालिकाको चाप बढेको छ । अस्पतालमा दैनिकजसो यस्तो लक्षण भएका बिरामी बालबालिका भर्ना भए पनि यसको कारण भने खुलेको छैन । 

कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीका अनुसार दैनिक २५ जनाको सङ्ख्यामा बिरामी बालबालिका भर्ना हुने गरेका छन् । परीक्षण गर्न आउनेको सङ्ख्या त्योभन्दा तेब्बर छ । अभिभावकले लिएर आएका यस्ता बालबालिकामा समान प्रकृतिको लक्षण देखिएको छ । 

“सामान्य अवस्थाका बालबालिकालाई परीक्षणपछि औषधि दिएर घर पठाउँछौँ,” डा. चौधरीले भन्नुभयो, “श्वास–प्रश्वासमा समस्या देखिएकालाई भर्ना गरेर उपचार गरिरहेका छौँ । कोसीको शिशु बहिरङ्ग विभागका ४२ शøयामा ज्वरो र रुघाखोकीका बिरामी भर्ना गरेर उपचार भइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिनुभयो । “काठमाडौँमा बालबालिकालाई एडिनो भाइरसको सङ्क्रमण देखिएको छ । उस्तै प्रकृतिका समस्या भएका बालबालिका विराटनगरका अस्पतालमा भर्ना भएका छन् । परीक्षण गर्ने ल्याब नहुँदा एडिनो भाइरस हो वा होइन भन्ने यकिन भने गर्न सकिएको छैन,” डा. खरेलले भन्नुभयो, एडिनो भाइरस हो वा हैन भन्ने यकिन गर्न काठमाडौँको टेकु प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । अहिलेसम्म नमुना परीक्षणका लागि पठाइएको छैन । 

“परीक्षण गर्ने ल्याब नभएका कारण हामीले भाइरल ज्वरो भनेर उपचार गरिरहेका छौँ,” बालरोग विशेषज्ञ डा. चौधरीले भन्नुभयो, “यसरी भर्ना भएका बालबालिकामध्ये धेरैमा श्वास–प्रश्वासको समस्या देखिएको छ । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आए उनीहरूलाई राख्ने छुट्टै वार्डको व्यवस्थासमेत छैन ।” 

अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बढेको भए पनि आत्तिनु नपर्ने चिकित्सकहरूको भनाइ छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमसागर रिमालले एडिनो भाइरसको सङ्क्रमण बालबालिकामा देखिएको बताउनुभयो । विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल बालरोग विभागका प्रमुखसमेत रहनुभएका डा. रिमालले यस्ता बिरामीमा अन्य भाइरसजस्तै सङ्क्रमण भइसकेपछि ज्वरो, रुघाखोकी ल्याउने र पेट दुख्ने लक्षण बताउनुभयो । बालबालिकामा सुरुमा रुघाखोकी, सिँगान बग्ने, आँखा रातो हुने, श्वास–प्रश्वासमा समस्या हुँदै अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका बिरामी धेरै रहेका छन् । एडिनोको कारण भएको मान्नुपर्छ, बालरोग विशेषज्ञ चिकित्सक रिमालले भन्नुभयो, “पखाला लाग्ने र शरीरमा डाबर आउने समस्या पनि छन् । पछिल्लो समय हातखुट्टा र मुखमा समेत फोका आउने समस्या भएका बालबालिकाको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । यसलाई हेन्ड–फुट–माउथ डिजिज भनिने डाक्टर रिमालले जानकारी दिनुभयो । जसका कारण घाँटीमा घाउ आउने र बालबालिकाले धेरै खोक्ने गर्दछन् ।

उहाँले एडिनो भाइरस हो भन्ने पुष्टि गर्ने ल्याब नभएपछि ‘क्लिनिकल सिन्ड्रोम’का आधारमा औषधि सेवन गराउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । भाइरस हो भने एन्टिबायोटिक औषधि दिनुपर्ने हुन्छ, भाइरल ज्वरो हो भने ज्वरो कम गर्न सहयोग मात्रै गर्ने हो, उहाँले भन्नुभयो ।