• १० मंसिर २०८१, सोमबार

कर्णाली नदीको जोखिम टीकापुरमा अझै उस्तै

blog

केही वर्ष पहिले टीकापुर पार्क क्षेत्रमा बनाएको तटबन्ध र स्पर कटान गर्दै कर्णाली । तस्बिर एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), साउन १३ गते । २०७८ कात्तिक २ गतेको बेमौसमी वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित टीकापुरमा यसवर्ष पनि जोखिम घटेको छैन् । 

त्यतिबेला बाढी पसेको स्थान टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा यसपटक ठूलठूला ढुङ्गा थुपारेर अस्थायी तटबन्ध बनाइएको छ । वर्षापछि त्यहाँ पक्की तटबन्ध बनाइने तयारी छ । पोहोर नदी पसेको ठाउँबाट जोखिम कम भएपनि तटबन्ध बन्न बाँकी र पहिले बनेर भत्किन लागेका तटबन्ध क्षेत्रबाट जोखिम बढेको छ । 

कर्णाली नदीको प्रवाह गत वर्ष भन्दा यसवर्ष कैलालीतिर झन बढेको प्राविधिकहरु बताउछन् । २० वर्ष अघि बर्दियाको गेरुवामा बग्ने कर्णाली पछिल्ला केही वर्ष यता पूरै कैलालीतिरको भँगालोमा बगिरहेको छ । कैलालीतिर नदीजन्य पदार्थको तीब्र उत्खननले पूरै पानीको दवाव पश्चिम किनारा पर्न थालेको रानी जमरा कुलरिया सिचाईँ आयोजनाका निर्देशक इन्जिनियर केदारकुमार श्रेष्ठ बताउनुहुन्छ । नदी किनारमा जंगल भएकाले जंगल कटान भैरहेको छ । जंगल बगेपछि यहाँ सिचाई गर्न बनिरहेको रानी जमरा कुलरिया सिचाईका पूर्वाधारहरु प्रभावित हुनेछन् ।

उच्च जोखिम् क्षेत्र पहिचान

परियोजनाले कर्णाली नदी किनारका मसानघाट, जमरा कुलो मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र बनगाउँलाई अति संवेदनशील उच्च जोखिममा रहेका क्षेत्र भनी निश्चित गरेको छ । यी क्षेत्रहरु तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका स्थान हुन् । परियोजनाको आंकलन अनुसार साउन ४ गते बुधबार भएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकमा पनि यी क्षेत्रका बारेमा छलफल भएको छ । बैठकले यसबाट टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पर्न जाने क्षतिको न्यूनीकरणका लागि आवश्यक काम परियोजनाले गर्ने र श्रोत नभए तालुक मन्त्रालयबाट माग गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले जानकारी दिनुभयो । । 

उच्च जोखिम भनिएको क्षेत्रबाट कर्णाली नदीको पानी पसे जानकी गाउँपालिकाको वडा नम्बर ३,६,९ टीकापुर नगरपालिकाका २,५,६,७,८ मा धेरै क्षति पुग्नेछ । ‘गतवर्षको बाढीले कर्णाली किनार धेरै भत्किएका छन् यसवर्ष पनि ढुक्क भएर बस्न सक्ने स्थिति छैन,’ टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला भन्नुहुन्छ, ‘ हामी बाढी आए कसरी बाँच्ने भन्ने तयारीमा छौं, आयोजना कार्यालय र विपद्मा काम लाग्ने सुरक्षा संयन्त्र तयार रहनुपर्नेछ ।’ अघिल्लो वर्षको बेमौसमी वर्षापछिको बाढीले टीकापुर नगरपालिका वडा नम्बर ८ का सबै घरपरिवार प्रभावित भएका थिए ।

उत्खनन मुख्य चुनौति

२०६६/६७ सालमा शुरु भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाई आयोजनाले नहरसंगै यसको सिंचित क्षेत्र जोगाउन नदी नियन्त्रणका काम पनि गरिरहेको छ । कर्णाली नदी नियन्त्रणका लागि यसअघि बनेका तटबन्धहरु भत्किन थालेका छन् । ‘नदी किनारमा बनाएका तटवन्ध एकपटक बनेपछि सधैका लागि भयो भन्ने मान्यता गलत छ बेलाबेलामा मर्मत नहुँदा भत्किन लागेको हो,’ आयोजनाका इन्जिनियर निर्मल दाहाल भन्नुहुन्छ ‘कर्णाली नदीको सबै पानी  किनारकिनारतिर एकत्रित भैरहेकाले टीकापुर पार्क क्षेत्रमा यसैवर्ष तटबन्ध भत्किने खतरा छ ।’

प्राविधिकहरुले टीकापुर जस्तै जानकी र लम्कीचुहाको उत्खनन नरोकिए तारजालीको तटबन्धले कर्णाली छेक्न सकिदैन भन्दै आएका छन् । ‘कर्णाली किनारको उत्खनन रोकेर बीचका टापुमा थुप्रेका ढुङ्गा बालुवा हटाउनु पर्ने र केही पानी गेरुवा नदीमा पठाउनु पर्छ,’ आयोजना निर्देशक केदारकुमार श्रेष्ठ भन्नुहुनछ, ‘टीकापुर नगरपालिकाले ठेक्का लगाउन छोडे पनि त्यसभन्दा माथिको जानकी र लम्कीचुहाका क्षेत्रमा नदी किनारबाटै उत्खनन गर्दा कर्णालीबाट हुने जोखिम घटेको छैन ।’ टीकापुरमा दुई हजार २३८ परिवार संकटासन्न अवस्थामा छन भनी पहिचान गरिएका छन् ।  

Author

एकिन्द्र तिमिल्सेना