• ४ साउन २०८१, शुक्रबार

आँखामा ‘कलरभिजन’को समस्या

blog

घोराही, साउन १३ गते । दाङमा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनका चालकहरूको आँखा जाँच गर्दा ११ प्रतिशतभन्दा बढीमा ‘कलरभिजन’ (रङ छुट्याउने) को समस्या देखापरेको छ । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय दाङले सडकमै चालकको आँखा जाँच अभियान सुरु गरेको हो । 

अधिकांश चालकमा कलरभिजनको समस्या देखा परेको छ । आँखामा कलरभिजन समस्या भएका चालकहरूले अगाडिको सवारी साधनले सङ्केत बत्ती बाल्दा वा साइड दिँदा देख्न नसक्ने अवस्था रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले बताउनुभएको छ । आँखा तथा स्वास्थ्य ठीक भए मात्रै चालकले सवारी साधन सही रूपमा चलाउन सक्ने र दुर्घटना हुनबाट जोगिने भएकाले दाङमा ट्राफिक प्रहरीले केही दिनदेखि चालकको आँखाको स्वास्थ्य परीक्षण अभियान थालेको छ । 

सो अभियानअन्तर्गत लामो तथा छोटो दूरीका ३०९ जना सवारी चालकको आँखा र रक्तचाप परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले बताउनुभयो । 

परीक्षण गरिएका मध्ये ३४ जनामा आँखाको समस्या देखिएको छ । ट्राफिक नियमअनुसार कलरभिजनको समस्या भएका चालकहरूको सवारी चालक अनुमतिपत्र रद्द हुने प्रावधान छ । ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकहरूको आँखा चेक अभियान सुरु गरेका छौँ’, प्रमुख परियारले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र लमही आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको आँखा जाँच शिविरमा ३०९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३४ जनामा कलरभिजन र २३ जनामा उच्च रक्तचापको समस्या देखिएको थियो ।