पाँच सय चालिस हेक्टर वनक्षेत्रमा आगलागी
गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार सोमबारसम्म ४३६ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ । जिल्लामा १८ हजार २२३.८८ हेक्टरमा फैलिएको ४५८ वटा सामुदायिक वन रहेको जानकारी उहाँले दिनुभयो ।
ग्रामीण क्षेत्रबाट महुवा सङ्कलन
कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् । औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर वसन्ताका दयाराम चौधरीले जानकारी दिनुभयो ।
घर बैतडीमा, कर डडेलधुरामा
सरकारी लापर्बाहीका कारण बैतडीको एक वडाको मालपोत र घर कर डडेलधुरा गएर तिर्नु पर्छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । हो, यस्तो अनौठो सास्ती ५० वर्षदेखि चलिरहेको छ ।
साङ्गीतिक प्रस्तुति दिँदा सर्जकको नाम अनिवार्य
कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिनुभयो ।
खुल्यो पुनः श्रम स्वीकृति
वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
पानी उद्योगमा समस्या
नेपाल पानी उद्योग महासङ्घले पानी उद्योगमा बोतल र जार उत्पादनका लागि प्रयोग गर्ने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ । महासङ्घले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धिको अनुपातमा जार र बोतलमार्फत बिक्री हुने पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको हो ।
सहरको पैसा गाउँमा तान्दै
विसं २०५७ मा १४१ लिटर दुधको कारोबार गर्दै स्थापना भएको एक सहकारी अहिले दैनिक तीन हजार पाँच सय लिटरको कारोबार गर्ने भएको छ । यस आधारमा उसको कारोबार रकम पनि बढेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड वार्षिक झन्डै १० करोड रुपियाँको कारोबार गरेर ठुलो संस्थाका रूपमा चिनिएको छ । सहकारीमार्फत दुध सङ्कलन, प्रशोधन र बजारीकरणमार्फत बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानले दुध बेचेरै आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ करोड ९३ लाख बढी रकम गाउँ भित्र्याएका छन् ।
प्रशोधित तेलको निर्यात एक खर्ब नाघ्यो
नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा एक खर्ब दुई अर्ब ७६ करोड रुपियाँको प्रशोधित तेल निर्यात गरेको हो ।
‘बजेटमा सबैको सामूहिक परीक्षण हुन्छ’
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ ।
मेडिकल काउन्सिलको सदस्य लाभको पद होइन
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद नभएको व्याख्या गरेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगले काउन्सिलको सदस्य लाभको पद हुने भन्दै डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विवादमा सर्वोच्चले सो व्याख्या गरेको हो । अदालतले उक्त पदलाई सरकारी कोषबाट पारिश्रमिक/सुविधा प्राप्त हुने संवैधानिक मापदण्डमा राख्न नमिल्ने व्याख्या गरेको हो ।
कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन
नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । सहमहामन्त्री रसाइलीले सोमबार निर्वाचन कार्यतालिका प्रकाशित गरिएको र वैशाख १० गते विधान तथा निर्वाचन निर्देशिकाका सन्दर्भमा सांसदसँग छलफल, मतदाता नामावली प्रकाशन, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो । उहाँले वैशाख ११ गते उम्मेदवारी दरखास्त, उम्मेदवारको नामावलीसहित उम्मेदवारको अन्तिम नामावली गरेर मतदान गरी निर्वाचन परिणाम घोषणा गरिने जानकारी दिनुभयो ।
निःशुल्क विदेश जान हेलो सरकारमा सोधीखोजी
हेलो सरकारमा निःशुल्क रूपमा (फ्री भिसा) मा विदेश काम गर्न जान पाइन्छ कि पाइँदैन भनेर सबैभन्दा बढी सोधीखोजी हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जान सेवा शुल्कबापत १० हजार रुपियाँभन्दा बढी लिए कारबाही गर्ने निर्णय गरेपछि जनताले हेलो सरकारमार्फत सोधीखोजी गर्न थालेका हुन् ।
रास्वपा सचिवालय विस्तार, महामन्त्रीमा शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय, केन्द्रीय सल्लाहकार परिषद् तथा सङ्घीय नेतृत्व परिषद् विस्तार गरेको छ । बैठकले पार्टीको महामन्त्रीमा भूपदेव शाहलाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा रास्वपका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा शाह उहाँका स्वकीय सचिव हुनुहुथ्यो । केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा शाहसहित प्रतिनिधि सभा सदस्य सागर ढकाल र पूर्वसञ्चारकर्मी सरिताश्री ज्ञवालीलाई समेत मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै रास्वपाको सचिवालय सदस्याको सङ्ख्या १६ पुगेको छ ।
विश्वविद्यालयबाट दलीय सङ्गठन संरचना तत्काल हटाउन निर्देशन
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थामा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ ।
‘शून्य बाँकी फाइल सप्ताह’ सफल
सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान सप्ताह सफल प्रायः बनेको जनाइएको छ ।
चम्किँदै जितगढी किल्ला
केही समयअघिसम्म ओझेलमा थियो, ऐतिहासिक जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्लानजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरु भयो । केही समयमै अतिक्रमण तीव्र भयो र किल्ला नै छोपिने अवस्थामा पुग्यो ।
नौ महिनामा ४४ सय सवारी कार्वाहीमा
म्याग्दीमा चालु आर्थिक वर्षको ९ महिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने करिब ४४ सय सवारी साधनलाई कार्वाही गरिएको छ ।
सरकारी वेवसाइट प्रयोगमैत्री बनाइँदै
सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।
गर्मी बढेसँगै फैलिँदै डढेलो, मासिँदै वन
बर्सेनि वन मासिँदै गएको छ । वन मासिनुमा सबैभन्दा ठुलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन ।
सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
सर्लाहीको कौडेनामा सोमबार गाउँपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री वितरण गरिएको छ । बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित रेन कार्यक्रम (उत्थानशीलता, अनुकूलन र समावेशी नेपाल) ले पालिका र सुरक्षा निकायलाई विपद्, पूर्व सूचना र उद्धारमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको सो कार्यक्रमकी आस्था प्रधानाङ्गले जानकारी दिनुभयो ।
जीतगढी विजयउत्सवको शुभारम्भ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो ।
लमजुङमा वैशाख १० देखि पठनपाठन सुरु हुने
लमजुङका चार वटा पालिकाका विद्यालयले वैशाख १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्न निर्देशन दिए पनि लमजुङका स्थानीय तहहरुले वैशाख १० बाट पठनपाठन सञ्चालन गर्न लागेका हुन् ।
अटिजम भएकाको उपचारमा समस्या
वीरेन्द्रनगर नगरपालिका–३ निवासी बादल थापाका छ वर्षीय छोरालाई अटिजम भएको छ । चार वर्षको हुँदा मात्र छोरामा अटिजम रहेको उहाँको परिवारले थाहा पायो । मन्टेसरीमा शिक्षिकाले यो कुरा अभिभावकसामु बताएपछि बिस्तारै परिवारका सदस्यले पनि रोग पहिचान गर्नुभयो । त्यसपछि उपचारका लागि नेपालगन्जदेखि चितवनसम्म पु¥याइयो । तर सहज रूपमा उपचार पाउन नसकेको थापाको गुनासो छ ।
दुई वर्षमा एक किलोमिटर मात्रै ट्र्याक
कालीकोटको नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँदेखि रुप्सा जोड्ने सात किलोमिटर सडक निर्माण सुरु गरिएको दुई वर्षमा एक किलोमिटर मात्रै ट्र्याक खुलेको छ । कडा चट्टान फुटाउन मुस्किल भएकाले सडक निर्माणमा ढिलाइ भएको हो ।