बिनाठेक्का कर्णालीबाट ढुङ्गा सङ्कलन
टीकापुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का नलगाउँदै कर्णाली नदीमा ढुङ्गा सङ्कलन सुरु गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षदेखि ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक लगाएको टीकापुर पार्कपछाडिको क्षेत्रमा यसरी ढुङ्गा उठाउन थालिएको हो। नदीको किनारपट्टि उत्खनन बढेका कारण कर्णाली नदी टीकारपुरतिर सोझिइरहेका बेला टीकापुर पार्क पछाडि थुप्रिएको ढुङ्गा उठाए जोखिम बढ्ने स्थानीयवासीको भनाइ छ।
डोटीमा चौध हजार ३५६ मत बदर
डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।
सुदूरपश्चिममा नौ पूर्वमन्त्रीहरु पराजित
सुदूरपश्चिममा सङ्घीय नौ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजीत भएका छन् ।
सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने
सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्ये ३० क्षेत्रको परिणाम सार्वजनिक भएको छ। सरकार बनाउन २७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा अहिलेसम्म गठबन्धनका दलहरूले प्रत्यक्षका २० सिट जितेका छन्।
बाजुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
जिल्लाको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनबारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।
घोडाघोडीमा लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव सुरु
कैलालीमा घोडाघोडी लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव शनिबारदेखि सुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गर्नुभयो ।
सुदूरपश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस पहिलो दल
मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल
स्थापनाको नौ महिनामा आमनिर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै कैलालीमा ठूलो दल बनेको छ।
कैलाली २ मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।
कैलाली–५ प्रदेश सभा (क) बाट माओवादीका धामी निर्वाचित
कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
अछाम–२ ‘ख’ प्रदेशमा कांग्रेसका रावल विजयी
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावल विजयी हुनुभएको छ ।
कैलाली ५ (ख) कांग्रेसका देउवा विजयी
नेपाली कांग्रेसका प्रकाश देउवा प्रदेश सभा सदस्यमा विजयी हुनु भएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ (ख) बाट उहाँ प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो ।
कैलाली २ (क) मा कांग्रेसका शाह विजयी
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा क बाट नेपाली काँग्रेसका उम्मेदवार कमलबहादुर शाह विजयी हुनुभएको छ ।
सुदूरपश्चिममा कांग्रेस अगाडि
सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा विजय हासिल गरेका छन् ।
कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर विजयी
कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाँण्डेले छ हजार ९१२ मत पाउनुभयो ।
बैतडीबाट एमाले नेता भण्डारीले गर्नुभयो जितको ह्याट्रिक
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ ।
कञ्चनपुर-१ मा एमालेका तामाङ विजयी
कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का तारा लामा तामाङ विजयी हुनुभएको छ।
डोटीमा प्रत्यक्षतर्फ ८ हजार ६२० मत बदर
डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको पाइएको हो ।
नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता कैलाली १ बाट विजयी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो ।
कञ्चनपुर १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो ।
कञ्चनपुर ३ (ख) मा कांग्रेसका रानामगर बिजयी
कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बेलबहादुर रानामगर विजयी हुनुभएको छ । राना मगरले १६ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभयो ।
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
डडेल्धुरा प्रदेशसभा (क) मा माओवादीका भट्ट विजयी
डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँले १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो ।