शेरबहादुर सार्की
बाजुरा, चैत १३ गते । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ मार्तडीवासीको धान फल्ने मार्तडी जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
पहिलेका पुस्ताले मार्तडीको सबै भन्दा बढी धान फल्ने मार्तडी जिउलो जोगाउँदै आएपनि अहिले उनीहरूका नयाँ पुस्ताले बिक्री गर्न थालेपछि सो जिउलो घरैघरले भरिँदै गएको हो ।
मार्तडीवासीले जिउलो बेच्दै र बाहिरबाट आउनेहरूले किन्दै आएपछि अहिले सो जिउलोमा घरैघर निर्माण हुन थालेको मार्तडीका स्थानीय बताउँछन् ।
बडिमालिका नगरपालिका –८ स्थानीय कविता रावलले, “पहिला यहाँका अधिकांश स्थानीयले धान खेती गर्दै आएको जिउलोलाई अहिलेका नयाँ पुस्ताहरूले बिक्री गर्दै व्यापार व्यवसायमा लागेपछि मार्तडी जिउलो हराउँदै गएको बताउनुभयो ।
उहाँले झण्डै सयौँ रोपनीभन्दा बढी रहेको मार्तडी जिउलो पछिल्लो समय यहाँका स्थानीयले बिस्तारै बिक्री गर्दै आएपछि अहिले जिउलो घरैघरले भरिभराउ हुँदै गएको रावलले बताउनुभयो ।
पछिल्लो समय मार्तडीमा बूढीगङ्गा, त्रिवेणी, छेडेदह, बुढीनन्दा, गौमुललगायतका स्थानीयले समेत मार्तडीमा बसोबास गर्न थालेपछि अहिले जिउलो घरैघरले भरिभराउ भएको रावलले बताउनुभयो ।
सदरमुकाम मार्तडीमा पाइने विभिन्न सेवा सुविधा तथा व्यापार व्यवसाय गर्न समेत सहज भएपछि जिल्लाका अन्य स्थानीय तहबाट समेत स्थानीय मार्तडीमा बसोबास गर्न थालेका हुन् ।
तल्लो क्षेत्रका स्थानीयहरू अहिले डाब बजार, रिठा, बेलाल्माण्डौ, फालासैन ताँप्री सेरा, बल्दे, आटिचौरलगायत विभिन्न स्थानीय बजारबाट दैनिक उपभोग्य सामग्री लिने गर्दछन् ।
जिल्लाको गौमुल, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ, हिमाली, लगायतका स्थानीयको मुख्य बजार मार्तडी नै हो ।
यो क्षेत्रका स्थानीय तहमा स्थानीय बजार भए पनि सो बजारमा अहिले पनि सदरमुकाम मार्तडीबाटै नै दैनिक उपभोग्य समान जाने गर्दछ ।
जिल्लाका अन्य स्थानीय तहबाट पनि अहिले सरकारी काम काजका लागि मार्तडी नै जाने गर्दछन् ।