जाजरकोट समाचारदाता
जाजरकोट, चैत १४ गते । विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डाको चोरी सिकार नियन्त्रणका लागि बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलमा क्यामरा जडान गरिने भएको छ।
डाँफे युवा क्लबद्वारा सञ्चालित रेड पान्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा नजिकका जङ्गल क्षेत्रमा क्यामरा जडान गर्न लागिएको हो। विश्वमै दुर्लभ मानिएका रेड पान्डा, चिर कालिज, सुनगिद्ध, कस्तुरीलगायत जीवजन्तु बारेकोटका सामुदायिक जङ्गलमा पाइन्छ।
रेड पान्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक भुपलाल केसीले चोरी सिकार नियन्त्रण गरी रेड पान्डाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यसहित क्यामरा जडान गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो वर्षभित्रै बारेकोटका विभिन्न जङ्गलमा क्यामरा जडान गर्ने योजना बनाएका छौँ। चोरी सिकार रोक्न क्यामरा जडान गरिनेछ।”
रेड पान्डा संरक्षण कार्यक्रमले विगत दुई वर्षदेखि जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा काम गरिरहेको छ। बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले बारेकोटका जङ्गलमा दुर्लभ रेड पान्डालगायतका वन्यजन्तु पाइने भएकाले तिनको संरक्षणका लागि क्यामरा जडान गर्न लागिएको बताउनुभयो।
दैलेखमा रेड पान्डा फेला
दैलेख समाचारदाताका अनुसार दैलेखको नौमुले गाउँपालिका–४, कालिकामा दुर्लभ रेड पान्डा फेला परेको छ। नौमुले गाउँपालिका–४, कालीखोलामा फेला परेको रेड पान्डाको उद्धार गरी डिभिजन वन कार्यालय दैलेखलाई बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) किशोर लम्सालका अनुसार रेड पान्डा फेला परेको खबर स्थानीयले गरेपछि इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले रेड पान्डाको उद्धार गरी डिभिजन वनलाई बुझाएको हो।
डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत एवं सूचना अधिकारी वेदप्रकाश ढकालले उद्धार गरी डिभिजन वन कार्यालयमा पठाइएको रेड पान्डालाई पुनः लेकाली जङ्गलमा छोड्न प्रहरी र वनको टोली गएको जानकारी दिनुभयो। उहाँका अनुसार रेड पान्डा पानीमा परेर कमजोर देखिएको र वनमा ल्याएर राख्दा तन्दुरुस्त भएपछि नेपाल प्रहरी र डिभिजन वन कार्यालयको टोली महावुको लेकमा छाड्न गएको हो।