चौबिस लाख किसान सूचीकृत, परिचयपत्र भने बनेन
किसान सूचीकरण कार्यक्रम अन्तर्गत हाल झन्डै २४ लाख किसान सूचीकृत भएका छन् । उक्त कार्यक्रम अन्तर्गत देशभर २३ लाख ८३ हजार १३ किसान सूचीकृत भएको कृषि सूचना केन्द्रले जनाएको छ ।
चौध प्रतिशत खर्च नहुने
सरकारले चालु आर्थिक वर्षमा करिब १४ प्रतिशत बजेट खर्च हुन नसक्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले मङ्गलबार चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै सुरु बजेटको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेको हो । चालु वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपियाँ बजेट खर्च हुने अनुमान गरेको थियो । अर्धवार्षिक मूल्याङ्कनमार्फत भने बढीमा १६ खर्ब ८८ अर्ब रुपियाँ बजेट मात्रै खर्च हुने अनुमान गरिएको हो ।
सेयर निष्कासन सम्झौता
अप्पर रिचेत हाइड्रोपावर प्रालिले दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनाका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
सात अर्ब पच्चिस करोड ऋण स्वीकृत
नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि विश्व बैङ्कले सात अर्ब २५ करोड रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत गरेको छ । बैङ्कको कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो स्वीकृति दिएको हो ।
पूर्वाधारमा निजी लगानी ल्याउन नयाँ मोडेलको तयारी
लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मसौदा तयार पारेको जानकारी दिनुभयो ।
इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो । विष्टले पदीय मर्यादाविपरीत भ्रष्टाचार गरी एक करोड ९७ लाख रुपियाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ ।
रामेछापमा बस दुर्घटना : बाह्र जनाको मृत्यु
काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकको मोडबाट दुर्घटना भएको हो ।
फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन
आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ ।
संविधान संशोधन : कानुन आयोगले थाल्यो अध्ययन
संविधान घोषणापछि हरेक १० वर्षमा कार्यान्वयनको समीक्षामार्फत पुनरवलोकन र संशोधनको संवैधानिक अभ्यास छ । २०७२ असोजमा नेपालको संविधान जारी भएको एक दशकपछि कार्यान्वयनबारे आमविमर्श प्रारम्भ भएकै छ । नेपाल कानुन आयोगले संविधानमा सुधार र पुनरवलोकनका लागि अध्ययन कार्य थालनी गरेको छ ।
बिनाभौतिक उपस्थिति सहजै सेवा
राष्ट्रिय किताबखाना (निजामती) ले भौतिक उपस्थितिबिनै सेवा दिन सुरु गरेको छ । कतिपय सरकारी कार्यालयले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भइरहेको बेला किताबखानाले आफ्ना सबै सेवा बिनाभौतिक उपस्थिति नै सहज बनाउन थालेको हो ।
नेपालमा वायु प्रदूषण फेरि उच्च
नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भएको थियो । लामो समय राम्ररी वर्षा नहुँदा वायुमण्डलमा थिग्रिएर बसेका धुलोका कणसँगै नयाँ कण थपिँदा यहाँको वातावरण प्रदूषित बन्दै गएको हो । गत साता हल्का वर्षा हुँदा पानीसँगै खसेका धुलोका कण फेरि आकासिएर तल्लो वायुमण्डल धुमिल बनाएको देखिएको वातावरण विभागले जनाएको छ ।
भ्रष्टाचारविरुद्ध सशक्त भूमिका
मुलुकमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै यस क्षेत्रमा संलग्न संस्था तथा व्यक्तिहरूबाट सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनुभएको छ ।
आदिबासी ज्ञान सम्मेलन अनुभवको जीवित संगम
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बन्न पुगेको अनुभूति भएको बताउनुभएको छ ।
आदिवासी महिलामा पेवा प्रणाली : आत्मनिर्भरताको आधार
आदिवासी जनजाति समुदामा पेवा प्रथा महिलाका लागि आर्थिक सशक्तीकरणको एक पाटो रहेको सरोकारवालाले बताएका छन् ।
पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने कुनै पनि सम्भावित वार्तामा युरोपेली साझेदारलाई सामेल गरिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
आचारसंहिता विपरीत गतिविधि भए कारबाही गर्छौं : आयुक्त तुलाधर
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कञ्चनजङ्घा आधार शिविरको सरसफाइ
ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन ९(हेक्याफ–३६०) ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो।
इशानेश्वरमा महाशिवरात्री मेलाको तयारी
लमजुङको मध्यनेपाल–७, करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको तयारी तीव्र बनाइएको छ ।
अडानीमाथि अमेरिकी जाँच
भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोप सम्बन्धी मिडिया रिपोर्ट सार्वजनिक भएपछि सम्भावित अमेरिकी प्रतिबन्ध उल्लङ्घनको अनुसन्धानमा सहयोग गरिरहेको खुलासा मङ्गलबार गरेको छ ।
नवग्रह मन्दिरमा महाशिवरात्रीमा विशेषपूजा हुने
अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नवग्रह मन्दिरमा महाशिवरात्री बिशेषपूजा हुने भएको छ ।
सालक संरक्षण गर्न घोषणापत्र
संसारभर सङ्कटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागि सात बुँदे माडी घोषणापत्र जारी गरिएको छ । चितवनको माडीमा नेपालमै पहिलो पटक सोमवार भएको सालक सम्मेलनबाट सालक संरक्षणका लागि बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार सङ्घ संस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूह, लगायतका सरोकारवालाले संयुक्त रुपमा घोषणापत्र जारी गर्नुभएको हो ।
बाहुनडाँगीमा बाघ आतङ्क
झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । माघले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।
सुकुम्वासी समस्या समाधानमा प्राथमिकता
सुकुम्वासी समस्या समाधान गर्नु नै श्रम संस्कृति पार्टीको मुख्य राजनीतिक एजेन्डा रहेको पार्टीका उम्मेदवारहरूले बताएका छन् ।
खामेनीद्वारा एकताको आह्वान
इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको वार्षिकोत्सवको अवसरमा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह गर्नु भएको छ ।