• २७ माघ २०८२, मङ्गलबार

आदिवासी महिलामा पेवा प्रणाली : आत्मनिर्भरताको आधार

blog

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित ‘आदिवासी ज्ञान सम्मेलन २०८२’ ।

काठमाडौँ, माघ २७ गते । आदिवासी जनजाति समुदामा पेवा प्रथा महिलाका लागि आर्थिक आत्मनिर्भरताको एउटा आधार भएको सरोकारवालाले बताएका छन्  । 

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित ‘आदिवासी ज्ञान सम्मेलन २०८२’ मा विभिन्न विषयमा भएको बहसमध्ये ‘आदिवासी महिलाको अवस्था र अनुभव’ विषयमा छलफल हुँदा उनीहरुले सो कुरा बताएका हुन् ।

डा. सुमाया राईले अधिकांश आदिवासी समुदायमा पेवा प्रणाली रहेको भन्नुहुँदै यसले महिलाले आर्थिक आत्मनिर्भरतामा टेवा पुगेको बताउनुभयो । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक लगायत हरेक क्षेत्रमा समग्र महिलाको अवस्था सन्तोषजनक नरहेको उहाँको भनाइ छ ।

मायालु तामाङले प्रस्तुत गर्नुभएको ‘ज्होजो’ अर्थात् पेवा प्रणाली : तामाङ महिलाको भविष्यको आर्थिक सुरक्षा र आत्मनिर्भरता’ विषयक एक प्रतिवेदनमा पेवा प्रणाली आदिवासी महिलाको आर्थिक सुरक्षा र आत्मनिर्भरताका लागि परम्परागत एवम् व्यवहारिक ज्ञान भएको बताइएको छ ।

तामाङका अनुसार महिलालाई पेवाको रुपमा आफन्तले कृषि सामग्री, अन्न, पशुधन लगायतको लगानी गर्ने र यसमा सम्पुर्ण रुपमा महिलाको अधिकार र स्वामित्व रहने बताउनुभयो । उक्त लगानीबाट महिलाले आफ्नो दैनिक जीवनयापनदेखि भविष्यमा सम्पत्ति जोहो गर्न समेत सहायता हुने गरेको अध्ययनमा उल्लेख छ । 

डा. विष्णुकुमार सिङ्जालीले प्रस्तुत गर्नुभएको ‘मगर संस्कृतिमा मगर महिलाको हैसियत’ विषयक कार्यपत्रमा घरमूलीका रुपमा महिलालाई प्रस्तुत गरिएको छ । 

सिङ्जालीका अनुसार मगर समुदायमा जन्म, मृत्यु लगायतका महत्त्वपूर्ण संस्कारमा महिलाको सहभागीता अनिवार्य हुनुपर्दछ । उहाँले मगर समुदायमा पनि महिलालाई पेवा दिने प्रचलन रहेको भन्नुहुँदै यसले महिलाको आत्मनिर्भरतामा टेवा पुर्‍याउने भनाइ राख्नुभयो । 

यसैगरी, हीमा राईले ‘आदिवासी दनुवार समुदाय : परम्परागत संस्था, ज्ञान र आदिबासी महिलाको लैङ्गिक हिंसाको अनुभव’ विषय कार्यपत्रमा दनुवार समुदायमा महिलालाई पैतृक सम्पत्तिको अधिकारको अवस्था राम्रो रहेपनि महिलामाथि हुने हिंसा भने कायम रहेको बताउनुभयो । दनुवार समुदायको चाल, चलन, रितिरिवाज, संस्कार, संस्कृति महिलाले संरक्षण गरेको पाइएको उहाँको कार्यपत्रमा छ । 

'एफएओ' का प्रतिनिधि सुशीला थापाले आदिवासीको अधिकार र खाना संस्कृतिलाई थप पहल गर्नुपर्ने  बताउनुभयो । जसअन्तर्गत चेपाङ समुदायको आर्थिक तथा सामाजिक जनजीवनसँग सम्बन्धित चिउरी संरक्षण तथा परिचालनका लागि साना सहकारीमार्फत नै पहल गरिएको उहाँको भनाइ छ । 

आदिबासी ज्ञान सम्मेलनको तेस्रो दिनमा ‘जलवायु परिवर्तन र आदिबासी ज्ञान’, ‘आदिबासी सिनेमा, लोकगाथा र सौन्दर्यशास्त्र’, आदिवासी महिला र परम्परा’, ‘आदिवासी सिकाइ र शिक्षाका चुनौतीहरु’, ‘परम्परागत संस्थाहरु र स्वशासन पद्दति’ आदि विषयमा बहस भएका छन् ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।