कृतबहादुर विष्ट
फूलबारी (कैलाली), माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
धनगढीमा आयोजित निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमका सहभागीहरूले आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएकाले यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका हुन् ।
निर्वाचन आयोगले बनाएको आचार संहिता व्यवहारमा पूर्णरूपमा लागु हुन नसक्दा मतदातामा नकारात्मक असर परेको सरोकारवालाले उल्लेख गरेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आचारसंहिता पालना नगर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठ्न थालेको सरोकारवालाहरूको भनाइ छ ।
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गलत टिप्पणी गर्ने तथा डर, धाकधम्की जस्ता अमर्यादित गतिविधि बढ्दै गएकोप्रति अधिवक्ता हरिकृष्ण पाण्डेले चिन्ता व्यक्त गर्नुभयो । यस्तै निर्वाचन आचारसंहिता उलङ्घनका गतिविधिले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप चुनौती सिर्जना गरेको छ, यसका साथै सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग बढेकाले सम्बन्धित निकायले निगरानी र कारबाहीलाई कडा बनाउनुपर्नेमा महिला अधिकारकर्मी गोमा आचार्यको भनाइ छ ।
कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले निर्वाचन आयोग शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय रहेको बताउनुभयो । उहाँले आचारसंहिता विपरीत गतिविधि भएमा उजुरी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै उलङ्घन पुष्टि भए कानुनी कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो । निर्वाचन केवल आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबैको साझा दायित्व भएको उहाँको भनाइ छ ।
निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नभएकोले निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाजले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले धारणा व्यक्त गर्नुभयो ।
निर्वाचनसँग सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल सरकारका पूर्व कानुन सचिव फणिन्द्र गौतम, निर्वाचन आयोगका उपसचिव विष्णुप्रसाद पौडेल र निर्वाचन आयोगका सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचन आचारसंहिता सम्बन्धि प्रस्तुति राख्नुभएको थियो ।