अर्जुन काफ्ले
स्याङ्जा, माघ २७ गते । अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नवग्रह मन्दिरमा महाशिवरात्री विशेषपूजा हुने भएको छ ।
फागुन ३ गते महाशिवरात्रीका दिन नवग्रह मन्दिरमा विशेषपूजा गर्ने तयारी गरिएको हो । गत वर्षको महाशिवरात्रीमा प्राण प्रतिष्ठा तथा अनुष्ठान गरिएको यो मन्दिरमा नौ लाख ९९ हजार ९९९ दिप प्रज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिनुभयो ।
सोही दिन मन्दिर परिसरमा अन्तरविद्यालय भजन प्रतिस्पर्धा गरिने छ । गायक पशुपति शर्माले मनोरन्जन प्रदान गर्ने पोखरेलले बताउनुभयो । पालिकाको वडा १ मा नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ ।
आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।