अनिल पराजुली
हेटौँडा, माघ २७ गते । संसारभर सङ्कटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागि सात बुँदे माडी घोषणापत्र जारी गरिएको छ । चितवनको माडीमा नेपालमै पहिलो पटक सोमबार भएको सालक सम्मेलनबाट सालक संरक्षणका लागि बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार सङ्घ संस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूह, लगायतका सरोकारवालाले संयुक्त रूपमा घोषणापत्र जारी गर्नुभएको हो ।
तामे सालक र कालो सालक नामक दुई वटा प्रजातिहरू बागमती प्रदेशभर भेटिएका छन् । अवैध व्यापार र वासस्थान विनाश समेतका कारण सालक सङ्कटापन्न अवस्थामा रहेका छन् । सालक संरक्षणका लागि जारी गरिएको घोषणापत्रमा सालक पाइने वन र संरक्षित क्षेत्रहरूमा संरक्षण तथा वासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धि लगायतका कार्यहरू सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने गराउने, चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार संरक्षण साझेदार सङ्घसंस्थाहरू, स्थानीय समुदायहरूको सहयोगमा सामूहिक पहल गर्ने उल्लेख छ ।
त्यस्तै, नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना बनाइ सोका लागि आवश्यक साधन स्रोत जुटाइ लागु गर्ने, स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, विश्व विद्यालय, तीनै तहका सरकार समेतको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने, सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख गरिएको डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जनाकारी दिनुभयो ।