• २७ माघ २०८२, मङ्गलबार

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

blog

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन ।

पेरिस, माघ २७ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने कुनै पनि सम्भावित वार्तामा युरोपेली साझेदारलाई सामेल गरिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

गत हप्ता उहाँले आफ्ना शीर्ष कूटनीतिक सल्लाहकारलाई मस्को पठाएपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यो स्तरको पहिलो प्रत्यक्ष सम्पर्क मानिएको छ । जर्मनीको सुडेउस्चे जाइटुङसहितका धेरै युरोपेली पत्रिकासँगको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “मैले के निष्कर्ष निकालेँ भने, रुस अहिले पनि शान्ति चाहँदैन भन्ने कुरा पुष्टि भएको छ ।”

उहाँले भन्नुभयो, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामीले प्राविधिक तहमा छलफलका ती च्यानल पुनः निर्माण गर्न सफल भएका छौँ ।” यो अन्तर्वार्ता मङ्गलबार प्रकाशित भएको हो । “मेरो चाहना भनेको यो सम्पूर्ण प्रक्रिया मेरा युरोपेली साझेदारसँग साझा गर्नु र एक सुव्यवस्थित युरोपेली दृष्टिकोणका साथ अगाडि बढ्नु हो”, उहाँले थप्नुभयो । पुटिनसँगको वार्ता धेरै वार्ताकारको भिडभाड बिनै, स्पष्ट जनादेशका साथ हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति म्याक्रोनले गत वर्ष युक्रेन विरुद्धको रुसको युद्ध अन्त्य गर्न वार्ताको पहल अमेरिकालाई मात्र छोड्नु उपयुक्त नहुने र युरोप आफैँले पनि पुटिनसँग पुनः सम्पर्क गर्नुपर्ने विश्वास व्यक्त गर्नु भएको छ । “हामीलाई रुस मन पर्छ वा पर्दैन, रुस भोलि पनि त्यहीँ रहने छ”, उहाँलाई उद्धृत गर्दै सुडेउस्चे जाइटुङले उल्लेख गरेको छ ।

“त्यसैले युक्रेनीलाई दबाब नदिई र तेस्रो पक्षमा निर्भर नभई, रुसीसँग युरोपेली स्तरको छलफल पुनः सुरु गर्न सकिने संरचना बनाउनु अत्यन्तै आवश्यक छ”, उहाँको भनाइ छ । गत हप्ता राष्ट्रपति म्याक्रोनले आफ्ना सल्लाहकार इमानुएल बोनलाई क्रेमलिन पठाएपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन फ्रान्सेली नेताको फोन लिन तयार रहेको बताउनुभएको थियो ।

“यदि तपाई साँच्चिकै गम्भीरताका साथ फोन गरेर छलफल गर्न चाहनु हुन्छ भने, त्यसपछि कल गर्नुहोस्”, लाभरोभले राज्यद्वारा सञ्चालित प्रसारणकर्ता आरटीसँगको अन्तर्वार्तामा भन्नुभएको थियो ।  दुई राष्ट्रपतिबिच अन्तिम पटक जुलाईमा फोन संवाद भएको थियो । यो अढाई वर्षभन्दा बढी अवधिपछि भएको पहिलो सार्वजनिक रूपमा थाहा भएको वार्ता थियो ।

राष्ट्रपति म्याक्रोनले सन् २०२२ मा युक्रेनमा आक्रमण नगर्न पुटिनलाई चेतावनी दिन शृङ्खलाबद्ध फोन कल गर्नु भएको थियो र त्यसै वर्षको सुरुतिर मस्कोको भ्रमण पनि गर्नु भएको थियो । आक्रमणपछि पनि उहाँले पुटिनसँग केही समय फोन सम्पर्क कायम राख्नुभयो । तर सेप्टेम्बर २०२२ पछि दुवै नेताबीचको संवाद पूर्ण रूपमा बन्द भएको थियो । रासस/एएफपी 

लेखक बाट थप