राजधानीमा राष्ट्रिय अपाङ्गता सम्मेलन
अपाङ्गता भएका व्यक्तिमध्ये पनि न्यून सङ्ख्यामा रहेका, सीमान्तकृत वर्गका समस्या, चुनौती पहिचान गर्न राजधानीमा राष्ट्रिय अपाङ्गता सम्मेलन आयोजना गरिएको छ ।
राष्ट्रिय सभामा पाँच वटा अध्यादेश आज पेस हुँदै
राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ ।
अमेरिकाबाट फर्काइए आठ जना नेपाली
अवैध बाटो हुँदै संयुक्त राज्य अमेरिका पुगी गैरकानुनी रूपमा बसोवास गरेका आठ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले देशनिकाला गरी नेपाल फिर्ता पठाएको छ ।
ग्यास विस्फोट : डराउनु पर्दैन टीकाथलीवासी
टीकाथलीमा भएको भूमिगत ग्यास विस्फोटको घटनापछि कथम्कदाचित् भूकम्प गएको अवस्थामा ग्यास फेरि विस्फोट हुने हो कि भन्ने त्रास स्थानीयवासीमा देखिएको छ तर त्यसरी डराउनु नपर्ने विज्ञहरूले बताउनुभएको छ ।
न्यूनतम ज्याला पुनरवलोकन गर्न माग
प्रमुख राजनीतिक दलसम्बन्धी श्रमिक सङ्गठनका अगुवाले न्यूनतम ज्यालाको समसामयिक पुनरवलोकन माग गरेका छन् ।
बलिदान सम्झँदै समृद्धिको अभियान
क्रान्तिवीरको निसानी झापाको सुखानी, कम्युनिस्ट राजनीतिको केन्द्र वरिपरि फन्को लगाइरहन्छ । २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सत्ताले आस्थाका बन्दीलाई झापाको चन्द्रगढी कारागारबाट इलामस्थित कारागारमा लैजाने बहानामा झापाको खुदुनाबारी र इलामको दानाबारीमा पर्ने सुखानीको जङ्गलमा पाँच जना कम्युनिस्ट क्रान्तिकारी योद्धाको हत्या गरेको थियो ।
मन्त्री पाण्डेलाई टुरिजम् मिनिस्टर अफ द एयर अवार्ड
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।
छोराको हत्या अभियोगमा दम्पती पक्राउ
मकवानपुर प्रहरीले छोराको हत्या अभियोगमा आमाबाबुलाई नियन्त्रणमा लिएको छ ।मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा ३ अदुवाबारीका मिनबहादुर भ्लोन र निजको श्रीमती देवीमाया भ्लोन आफ्नै छोराको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।
सालीको हत्या गर्ने भिनाजु पक्राउ
बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उप्किन थाल्यो सडकको ढलान
लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारको ढलान दुई वर्ष नपुग्दै उप्किन थालेको छ । एक पटक ढलान गरेपछि कम्तिमा दश वर्षसम्म मर्मत गर्न नपरोस् भने उद्देश्यले गरिएको ढलान उप्किन थालेको हो ।
दुई टिप्पर प्रहरी नियन्त्रणमा
बाँकेमा नदीजन्य पदार्थको अवैध दोहोन र ओसारपसार बढेको छ । बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीको सिधनियाघाट छेउबाट ठुलो परिमाणमा नदीजन्य पदार्थहरु बालुवा र गिट्टीको अवैध दोहोन र ओसारपसार गर्ने दुई पिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कृषिक्षेत्रमा आमुल परिवर्तन गर्नुपर्छ : कृषिमन्त्री क्षेत्री
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा मधेश प्रदेश सरकारसँगको समन्वयमा फुड एग्रिकल्चर ओरगानिजेसन (एफएओ) ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सिद्धार्थनगरमा सुधारिएको चुल्हो दिइने
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता भएको छ ।
नकैया सिमसारमा ३० लक्ष्मण सारस
कञ्चनपुरमा रहेको नकैया सिमसार क्षेत्रमा ३० वटा लक्ष्मण सारस देखा परेका छन् । बेलौरी नगरपालिका –७ मा रहेको सो सिमसार क्षेत्रमा मङ्गलबार (फागुन २० गते) सो संख्यामा लक्ष्मण सारस देखा परेका हुन् ।
पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुँदै (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेदेखि सुरुभएको छ । आजको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची रहेको छ ।
जेसीज कप फुटबलमा आर्मी र पर्पल हेज विजयी
बागलुङको बाङेचौर खेलमैदानमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाली सेनाको श्रीमेहर गण र पर्पल हेजले विजयी सुरुवात गरेका छन् ।
सान्थाक्रामा एक युवक मृत फेला
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो ।
हिमशृङ्खला अवलोकन गर्दै पर्यटक
काठमाडौं, फागुन २१ गते । लमजुङको क्व्होलासोथार गाउँपालिका–६, पसगाउँस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल क्होम्रे डाँडाबाट हिमशृङ्खला अवलोकन गर्दै आन्तरिक पर्यटक । यो स्थानबाट अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रेलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । तस्बिरः रासस
भीरबाट लडेर रोकायाको मृत्यु
सङ्गीताकुमारी तिमिल्सेना बाजुरा, फागुन २१ गते । गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर रोकाया रहनुभएको छ ।घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार (आज) मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताउनुभयो । करिब एक सय मिटर तल खोँचको खोलामा उहाँको लास फेला परेको उहाँले बताउनुभयो । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारीसमेत हुनुहुन्थ्यो ।बस्तुभाउको लालनपालन गर्नका लागि जिल्लामा स्थानीयले बर्सेनि ज्यान गुमाउनुपरेको छ ।
राष्ट्रिय राजमार्ग निर्माण धमाधम जारी छ: देवेन्द्र दाहाल
काठमाडौँ, फागुन २१ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्ग निर्माणको काम धमाधम भइरहेको बताउनुभएको छ । दर्जनौँ अवरोधहरू हटाएर कामलाई सुचारु गरेको उहाँले बताउनुभयो । मन्त्री दाहालसँग राष्ट्रियसभा सांसद हुँदाको अनुभव, सङ्घीय संसद्का गतिविधि, सरकारले गरेका गतिविधि, संविधान संशोधन, संविधान कार्यान्वयन र मुलुकको समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :-- राष्ट्रियसभामा पाँच वर्ष रहँदै गर्दाको अनुभव कस्तो रह्यो ?राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो अवधिमा खास गरी संविधानको मर्मअनुरूप कानुन निर्माण प्रक्रियामा बढी सक्रिय भएर काम गरियो । विकासको विषयमा पनि संसद्मा विषयहरू उठाएको छु । त्यसै गरी जनताका समसामयिक विषयमा सांसदमार्फत सरकारको ध्यानाकर्षण गराउने काम गरियो । जनताका आवाजलाई संसदमा उठाउने काम गरियो । विधायन व्यवस्थापन समितिमा बसेर काम गर्ने मौका पनि मिल्यो । -- संविधान जारी भएको करिब दश वर्ष भएको छ, संविधान कार्यान्वयनको अवस्थालाई तपाईँले कसरी हेर्नुभएको छ ?संविधान कार्यान्वयनलाई हेर्दा संविधानअनुसारका धेरै कानुन बन्न बाँकी नै छन् । अहिले पनि २०१२ साल, २०१८ सालका कानुन छन् । पञ्चायतभन्दा पनि पहिलेका कानुन पनि छन् । त्यसको सट्टामा नयाँ कानुन निर्माण गर्नुपर्ने खाँचो छ, तर हुन सकेको छैन । संविधान कार्यान्वयन नै भएन भन्ने होइन, कार्यान्वयन भएको छ । तर यो दश वर्षको अवधिमा संविधानले परिलक्षित गरेअनुरूप जुन गतिमा कानुन बन्नुपर्ने हो त्यो हुन सकेको छैन । त्यस कारण संविधान कार्यान्वयनको सन्दर्भमा हामी पछाडि नै परेका छौँ । कानुन निर्माणमा तीव्रता दिनुपर्ने जरुरी छ । -- पछिल्लो समयमा संविधान संशोधनको विषय उठिरहेको छ नि ?संविधान भनेको संशोधन गर्न नमिल्ने विषय होइन । समयअनुसार संशोधन गर्दै लैजानुपर्छ । संविधान संशोधन नहुँदा कतिपय अवस्थामा काम गर्न पनि समस्या भइरहेको अवस्थामा संशोधन गर्नुपर्छ । संशोधनको बारेमा चर्चा चलेको भनेको निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भन्ने हो । यो निर्वाचन प्रणाली अलि खर्चालु पनि भयो भनेर संशोधनको विषय उठिरहेको छ । अर्को कुरा यो संवैधानिक व्यवस्थाले गर्दा कुनै पनि राजनीतिक पार्टीको बहुमत आउने देखिँदैन । बरु प्रत्यक्ष निर्वाचित प्रणालीलाई बढाएर समानुपातिकको बारेमा विचार गर्नुपर्छ । समानुपातिक प्रणालीबाट विभिन्न जातजाति वा उत्पीडित समुदायको प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचित प्रणालीबाट पनि समेट्न सकिन्छ । -- सङ्घीयताबारे पनि विभिन्न कोणबाट बहसहरू भइरहेको छ । सङ्घीयता सुदृढीकरणको लागि तपाईँको सुझाव के छ ?सङ्घीयता अलिकति महँगो भयो । मेरो विचारमा स्थानीय तहलाई अलि बढी अधिकार दिनुपर्छ । त्यसको मतलब स्थानीय सरकारलाई अधिकार दिइएको छैन भन्ने होइन । तर दिइरहेको अधिकारलाई अलि बढाउनुपर्छ भन्ने हो । बजेट पनि स्थानीय सरकारमा बढी केन्द्रित गर्नुपर्छ । प्रदेशले गर्ने काममा त्यति धेरै फरक परेको छैन । प्रदेशले के नयाँ काम गरेको छ त रु भन्ने कुराहरू पनि उठिरहेको छ । प्रदेश सरकार हुनुपर्छ । तीन तहको संरचना आवश्यक पनि छ । तर त्यसका बारेमा केही विषय सच्याएर, परिमार्जन गरेर जानुपर्छ । -- सुशासनको लागि के गर्न सकिन्छ होला ? सरकारले सुशासनको लागि के गरिरहेको छ ?सुशासनका लागि सबैले कानुनअनुसारको काम गर्नुपर्छ । मुख्य कुरा जनतालाई समयमै सेवा दिनुपर्छ । जनतालाई दुःख दिने वा आलटाल गर्ने गरी काम गर्नु भएन । जनतालाई छिटोछरितो तरिकाले सेवा दिनुपर्छ । सरकारी काममा विभिन्न ठाउँमा फाइल अड्काउने काम गर्नु भएन । जनताको पक्षमा काम हुनुपर्छ । जुन काम अहिलेको सरकारले गरिरहेको छ । सरकारले पारदर्शी ढङ्गबाट काम गरिरहेको छ । सुशासन कायम गर्न सरकारले काम गर्न सकेन भन्ने विपक्षी दलहरूको भनाइमा कुनै सत्यता छैन । त्यही भएर सरकारले सुशासनलाई अझ प्रवर्द्धन गर्ने गरी अध्यादेश पनि जारी गरेर संसद्मा ल्याएको छ । अध्यादेश स्वीकृत भएपछि सुशासन र विकासका सन्दर्भमा थप कार्य गर्न सकिने विश्वास छ । -- अहिले धेरै युवा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई देशभित्रै रोक्नका लागि सरकारले के गर्नुपर्छ ?नेपाली युवाको विदेश पलायन रोक्नका लागि देशभित्रै रोजगारी सृजना गर्नुपर्छ र यस काममा सरकारले ध्यान दिइरहेको छ । शिक्षा प्रणालीमा पनि सुधार जरुरी छ । खास गरी रोजगारमूलक शिक्षाका लागि हामीले काम गरिरहेका छौँ । सरकारले उत्पादनलाई बढवा दिने गरी काम गरिरहेको छ । अहिलेको कृषि प्रणाली साँझ बिहान हातमुख जोर्नेतर्फ मात्र केन्द्रित छ । सरकारले कृषिलाई उद्योगसँग जोड्दै लैजाने नीति लिएको छ । कृषिलाई उत्पादनसँग जोड्ने काम पनि भइरहेको छ । सरकारले साना साना उद्योगलाई प्राथमिकता दिएको छ । युवा पलायन एकै चोटि रोकिन्छ भन्ने होइन, सरकारले रोजगारी सृजना गरेर युवा पलायन रोक्ने गरी काम गरेको छ । युवा पलायन बिस्तारै रोकिन्छ । देशको परिवर्तनका लागि सङ्घर्ष गरेर आएका नेपाली काँग्रेस, नेकपा [एमाले] र नेकपा [माओवादी केन्द्र]लगायत मधेसवादी दलहरू विकासका लागि एकीकृत हुँदै एकै ठाउँमा उभिनुपर्ने हो । तर दलहरू सरकार बनाउने र ढाल्ने खेलमा मात्र लागेजस्तो देखिन्छ । एकले अर्कालाई आरोप–प्रत्यारोप मात्रै गरेको देखिन्छ, यो बारेमा तपाईँको धारणा के छ ?नेपालको सन्दर्भमा निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन भने दलहरू मिलेर सरकार बनाउने बाध्यात्मक अवस्था छ । अहिले देशका दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनेको छ । त्यो भनेको बाध्यात्मक अवस्था हो । यस्तो अवस्थामा बनेको सरकारलाई सफल बनाउन लाग्नुपर्ने हो । तर त्यस्तो गरेको देखिँदैन । सरकारले गरेका राम्रा कामको समर्थन गर्नुपर्ने हो । प्रतिपक्ष दलको आफ्नो भूमिका होला । तर सरकारले गरेका राम्रा कामको पनि विरोध नै गर्नुपर्छ भन्ने हुँदैन । आरोप–प्रत्यारोप गर्नुपर्ने, सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर गलत प्रचार गर्नुपर्ने कुनै कारण छैन । प्रतिपक्ष दलले धैर्यपूर्वक साथमा बस्न सक्नुपर्छ । जे कुरा राख्नुपर्ने हो, त्यो कुरा संसदमै राखे भइहाल्यो नि । बाहिर किन तथानाम सरकारलाई गाली गर्दै हिंड्नुपर्याे ? प्रतिपक्षले निर्वाह गर्नुपर्ने जुन धर्म हो, त्यो नै निर्वाह नगरेको देखिन्छ । हामीले सरकार निर्माण गरियो । प्रतिपक्षलाई कुनै आरोप लगाएका पनि छैनौँ र आरोप लगाउनुपर्ने कुनै कारण पनि छैन । सरकारले कसैलाई आरोप लगाउनेभन्दा पनि काममा ध्यान दिइरहेको छ । -- तपाईँ मन्त्री हुँदै गर्दा अब तपाईँको योजना के छ ?अबका दिनमा पनि मेरो भूमिका भनेको जनतालाई सुशासन दिलाउन प्रयास गर्ने नै हो । जुन अहिले पनि सरकारले दिइरहेको छ । अर्को, विकास निर्माणका कामलाई सरकारले तीव्रता दिएको छ । कानुन निर्माण प्रक्रियामा सक्रियता बढाउने मेरो भूमिका हुन्छ । खास गरी यातायात र पूर्वाधार विकासको क्षेत्रमा सरकारले तीव्रताका साथ काम गरिरहेको छ । राष्ट्रिय महत्वका मुङलिन–पोखरा, नारायणगढ–बुटवल समेतका राष्ट्रिय राजमार्गहरूको निर्माणमा भइरहेको ढिलासुस्ती वा अवरोधलाई हटाएर अहिले धमाधम काम भइरहेको छ र यसका नतिजा चाँडै देखिने अवस्था सृजना भएको छ । बिपी राजमार्ग अस्थायी रूपमा खुलेको छ, तर स्रोतको सुनिश्चितता गरी पुनर्निर्माणको काम सरकारले जतिसक्दो चाँडो सुरु गर्दै छ । रासस
सालनालसहित नवजात शिशुको शव फेला
पश्चिम मकवानपुरको मनहरीमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका–७ डम्पिङसाईटमा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष धार्मिक अनुष्ठान हुँदै
काठमाडौँको मैतीदेवी चोकस्थित गोदा वेणुगोपाल भगवान्को मन्दिरमा विशेष धार्मिक अनुष्ठान बुधबार (आज)बाट सुरु हुँदैछ । फागुन २६ गतेसम्म चल्ने कार्यक्रम अन्तर्गत मन्दिरमा गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गरिने छ ।
सल्यानको राष्ट्रपति शिल्ड शारदाको हातमा
सल्यानको जिल्लास्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ ।उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कांस्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
एक जना सहयोगीको भरमा कार्यालय सञ्चालन
प्रनिश गिरीपर्वत, फागुन २१ गते । पर्वतको शिक्षा विकास तथा समन्वय एकाइको प्रशासनिक कार्य जति सबै कार्यालय सहयोगीको भरमा चलेको छ । यो सुन्दा कतिपयलाई अनौठो लाग्न सक्छ तर प्राविधिक सहायक स्तरका कर्मचारी नभएपछि प्रशासनिक कार्यको जिम्मेवारी एक जना कार्यालय सहयोगीकै भर पर्नुको विकल्प नभएको हो । शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा कर्मचारी दरबन्दी कार्यालय प्रमुख एकसहित प्राविधिक सहायक कर्मचारी ३ र कार्यालय सहयोगी २ गरी जम्मा ६ जनाको छ । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी कहिल्यै पूरा भएको छैन । कर्मचारीको दरबन्दी ६ जनाको भए पनि विगत केही वर्षदेखि एक जना प्राविधिक सहायक मात्रै कार्यालयमा काजमा कार्यरत रहँदै आएका थिए ।काजमा रही कार्यरत एक जना प्राविधिक सहायक स्तरका कर्मचारी पनि गत असोजमा सरुवा भई अन्यत्र गइसकेपछि प्रशासनिक कार्यको सम्पूर्ण जिम्मेवारी कार्यालय सहयोगी सूर्यप्रसाद सुवेदीको काँधमा आइपरेको हो । अस्थायी करारमा कार्यरत ३१ वर्षे सूर्यप्रसाद सुवेदी विगत ४ वर्षदेखि समन्वय एकाइमा हुनुहुन्छ । विगत ७ महिनादेखि प्रशासन अन्तर्गतका कार्य आफूले सम्हाल्दै आएको बताउँदै कार्यालय सहयोगी सुवेदीले भन्नुभयो–कुचो लगाउने, कार्यालयको गाडी चलाउनेदेखि प्रशासनिक सबै काम गर्दै आएको छु । कार्यालयमा सेवा सुरु गरेदेखि नै सबै काम गर्न थालेको हो । तीन जना प्राविधिक कर्मचारीले गर्ने काम कार्यालय सहयोगी सुवेदीले एक्लै गर्दै आउनुभएको छ ।कार्यालय सहयोगी सुवेदीलाई यतिखेर आउँदै गरेको एसइई परीक्षा २०८१ को तयारीका कारण कामले भ्याई नभ्याई छ । सहयोगी सुवेदीका अनुसार रोल्पादेखि यही फागुन ८ गते सरुवा भई एक जना प्राविधिक सहायक स्तरका कर्मचारी कार्यालयमा आएको तर अहिले बिदामा बस्दा कामको भार जति सबै आफैंले लिनुपरेको छ । एसइई परीक्षाको आवेदन इन्ट्री, रजिष्टेशन इन्ट्री, प्रवेश पत्रमा विद्यार्थीको सिम्बाेल नम्बर कायम गर्नेलगायतका काम एक्लै गर्दागर्दै समय बितेको सहयोगी सुवेदीलाई पत्तै हुँदैन । जिल्लाबाट यस वर्षको एसइईमा नियमिततर्फ १ हजार ८ सय १३ र ग्रेड वृद्धितर्फ ५२१ जना गरी कुल २ हजार ३ सय ३४ जनाले भाग लिँदैछन् । बिबिएससम्मको औपचारिक शिक्षा पूरा गर्नुभएका सुवेदीले चिठीपत्र तयार पार्ने, दर्ता चलानी, बिदा स्वीकृतिको कागजात तयार पार्ने, शिक्षक बढुवाको नियुक्ति पत्र, शिक्षक निवृत्तिभरणका कागजात तयार पार्नेलगायत सम्पूर्ण कार्यालयबाट हुने सेवा पूरा गर्दै आउनुभएको छ । प्रायजसो बिहान छिटै कार्यालय आउने र बेलुका अबेरसम्म कार्यालयकै काम गर्नुपर्दा लोकसेवाको तयारी गर्न अलि समय नपाएकोमा कार्यालय सहयोगी सुवेदीको गुनासो छ । कार्यालय सुवेदी भन्नुहुन्छ–विद्युत् प्राधिकरणको प्रशासनिक सेवाको तयारी गर्दैछु । सकभर नेपालमै बसेर सरकारी सेवा गर्ने धोको छ ।नजिकिँदै गरेको एसइई परीक्षाका लागि जिल्लामा तोकिएका विभिन्न पालिकामा हुने ९ वटा परीक्षा केन्द्रका लागि प्रश्नपत्र गन्ती गर्ने, कपी रुजु गर्ने, पोका पारेर विद्यालयको परीक्षा केन्द्रमा कपी पुर्याउनेलगायतका कामसमेत कुशलताका साथ गर्नुपर्छ भनी आफूलाई सुवेदीले मानसिक रूपमा तयार पारिसक्नु भएको छ । समन्वय एकाइ कार्यालयका प्रमुख मतिलाल चपाईलाई शिक्षक पेसागत सहयोग कार्यक्रम अन्तर्गत गरिने विद्यालयहरूको शैक्षिक सुपरिवेक्षण गर्दैमा फुर्सद छैन । प्रमुख चपाईका अनुसार जिल्लाको ४ वटा पालिकाका ३० वटा विद्यालयमा कक्षा अवलोकन, अन्तरक्रिया र सुझाव लिने दिने काम भएको छ । कर्मचारी अभावले काम गर्न कठिनाइ भए पनि कार्यालय सहयोगीको कामका कारण सजिलो भएको बताउँदै प्रमुख चपाईले भन्नुभयो–एक जना कार्यालय सहयोगीको भरमा लामो समयदेखि काम गर्नुपरेको छ । कार्यालय सहयोगी भई मेरो दाहिने हात हो । उहाँले सही गर्ने बाहेक सम्पूर्ण प्रशासनिक कार्य गर्नुहुन्छ । बिहान बेलुका गरेर भए पनि कार्यालयको काम सम्पन्न गर्दै आएका छौँ।