काठमाडौँ , फागुन २१ गते । काठमाडौँको मैतीदेवी चोकस्थित गोदा वेणुगोपाल भगवान्को मन्दिरमा विशेष धार्मिक अनुष्ठान बुधबार (आज)बाट सुरु हुँदैछ । फागुन २६ गतेसम्म चल्ने कार्यक्रम अन्तर्गत मन्दिरमा गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गरिने छ ।
छ दिनसम्म चल्ने कार्यक्रममा सभाप्रार्थना, ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, अष्टाक्षरी वासुदेव–हवन तत्वन्यास हवनादिलगायत कार्यक्रम रहेका छन् । यस्तै मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतिन्द्राचार्यले जानकारी दिनुभयो । कार्यक्रम तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जियर स्वामीजीको प्रमुख आचार्यत्वमा अनुष्ठान सम्पन्न हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागी आउने पनि अधिकारीले बताउनुभयो ।