गोरखापत्र समाचारदाता
भक्तपुर, फागुन २२ गते । प्रमुख राजनीतिक दलसम्बन्धी श्रमिक सङ्गठनका अगुवाले न्यूनतम ज्यालाको समसामयिक पुनरवलोकन माग गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७९ औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठक उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै श्रमिक अगुवाले बैङ्क, वित्तीय क्षेत्रमा श्रम ऐन लागु हुनुपर्ने माग गरेका हुन् ।
वक्ताहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि कार्यान्वयन, श्रमिक पञ्जीकरण, वैदेशिक रोजगारमा रहेका श्रमिकको रोजगारी मर्यादित तुल्याउन र श्रमिक अधिकार सुनिश्चित गर्न माग गरे ।
वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा सामाजिक सुरक्षा, युवा र महिलाको ट्रेड युनियन आन्दोलनमा सहभागिता वृद्धि, स्वदेशमै रोजगारी सिर्जनाका लागि आवश्यक पूर्वाधार विकासलगायतका विषयमा राष्ट्रिय मुद्दा बनाउनुपर्ने माग गरे ।
कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन परिषद् महासचिव एवं नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल र पुष्कर आचार्य, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपाल निर्देशन नुमन ओज्कन, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।