जीवछ यादव
लहान, फागुन २१ गते । लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारको ढलान दुई वर्ष नपुग्दै उप्किन थालेको छ । एक पटक ढलान गरेपछि कम्तिमा दश वर्षसम्म मर्मत गर्न नपरोस् भने उद्देश्यले गरिएको ढलान उप्किन थालेको हो ।
दीर्घकालीन विकास निर्माणको काम कमसल देखिएपछि जनगुनासो बढ्न थालेको छ । लहानको मुख्य चोकमा विहान–बेलुका हरेक क्षेत्रका अगुवा राजनीतिक दलका नेताहरु र पत्रकारको घुइँचो रहने ठाउँमा यस्तो कमसल काम भयो भने अरु ठाउँहरुको कसरी गुणस्तरी काम होला ? स्थानीयको गुनासो छ ।
दुई वर्ष नपुग्दै यसरी उप्किन थालेको ढलान सडकको भुक्तानी उपभोक्ता समितिले कसरी पाइयो भने प्रश्न लहान–११ धर्मराज चौधरीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहाँ छ छानबिन गर्ने निकाय ? अरु ठाउँमा गरिएका ढलान सडकहरु पनि उप्किन थालेको छ ।’
चालिस लाखको योजनामा गरिएको ढलान असार महिनामा हतारमा गरेकाले ढलान कमसल भएको उपभोक्ता समिति अध्यक्ष असरलाल चौधरीले बताउनुभयो । ठेकेदार दिपक श्रेष्ठमार्फत काम गराएको उहाँले स्वीकार्नुभयो ।
यसबारे लहान नगरपालिका प्राविधिक इन्जिनियर अनिक यादवसँग जिज्ञासा राख्दा उहाँले भारी बोक्ने गाडी आउजाउ गर्दा र निर्माण भएको समयमा एक हप्तासम्म गाडी जानआउन रोक लगाउनुपर्नेमा ढलान गरेको एक दुई दिनमा यातायातका साधनहरु आउजाउ गरेकाले ढलानमा चिरा परेको बताउनुभयो ।
अनुगमन समितिको समेत संयोजक रहनु भएको नगरप्रमुख राम चलितर महतोको अनुसार सबै काम सम्पन्न गरेर अन्तिममा अनुगमन समितिकहाँ फाइल लिएर आउने विगत वर्षहरुको परम्परा रहेको बताउनुभयो ।
स्वस्थ्य र न्यायिक अनुगमन नहुँदा शिक्षा क्षेत्रमा र सडक निर्माण र भौतिक निर्माणमा भइरहेको अनियमितता रोक्न नगर उपप्रमुख राम चलितर महतोले राखेको प्रस्ताव सत्य रहेको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो । ढलान उप्किन थालेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीले आएर चेकजाँच गरेको थियो ।