• २२ फागुन २०८१, बिहिबार

अमेरिकाबाट फर्काइए आठ जना नेपाली

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २२ गते । अवैध बाटो हुँदै संयुक्त राज्य अमेरिका पुगी गैरकानुनी रूपमा बसोवास गरेका आठ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले देशनिकाला गरी नेपाल फिर्ता पठाएको छ । बुधबार स्वदेश फर्काइनेमा सुषमा घर्ती, लक्ष्मण खरेल, सुकुमार पुनमगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली, तीर्थबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

ग्रिफान एयरको चार्टर विमानमार्फत बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले प्रारम्भिक सोधपुछ गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । 

मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अमेरिका निष्कासनमा परी फर्काइएका सबै जना गैरकानुनी बाटो दुबई, स्पेन, मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको पाइएको छ । सोधपुछका क्रममा उनीहरूले अमेरिका प्रवेश गर्नेबित्तिकै अध्यागमन प्रहरीको नियन्त्रणमा परी पाँचदेखि नौ महिनासम्म हिरासतमा बसेको प्रहरीले जनाएको छ ।

डिपोर्टमा परेका एक जनाको भनाइ उद्धृत गर्दै अध्यागमन स्रोत भन्छ, “अमेरिकाबाट आउँदा हत्कडी र खुट्टामा नेल लगाइयो, जहाजमा हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिइएन ।” ब्युरोका प्रहरी उपरीक्षक कुँवरका अनुसार निष्कासनमा परेका सबै जना लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका हुन् । 

निष्कासनमा पर्नेमा पाँच जना महिला र ३० जना पुरुष रहेका छन् । प्रहरीसँगको सोधपुछका क्रममा उनीहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपियाँसम्म बुझाएर अमेरिका पुगेको बताएको र पठाउने व्यक्तिको नाम भने खुलाउन नचाहेको बताए ।