प्रनिश गिरी
पर्वत, फागुन २१ गते । पर्वतको शिक्षा विकास तथा समन्वय एकाइको प्रशासनिक कार्य जति सबै कार्यालय सहयोगीको भरमा चलेको छ । यो सुन्दा कतिपयलाई अनौठो लाग्न सक्छ तर प्राविधिक सहायक स्तरका कर्मचारी नभएपछि प्रशासनिक कार्यको जिम्मेवारी एक जना कार्यालय सहयोगीकै भर पर्नुको विकल्प नभएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा कर्मचारी दरबन्दी कार्यालय प्रमुख एकसहित प्राविधिक सहायक कर्मचारी ३ र कार्यालय सहयोगी २ गरी जम्मा ६ जनाको छ । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी कहिल्यै पूरा भएको छैन । कर्मचारीको दरबन्दी ६ जनाको भए पनि विगत केही वर्षदेखि एक जना प्राविधिक सहायक मात्रै कार्यालयमा काजमा कार्यरत रहँदै आएका थिए ।
काजमा रही कार्यरत एक जना प्राविधिक सहायक स्तरका कर्मचारी पनि गत असोजमा सरुवा भई अन्यत्र गइसकेपछि प्रशासनिक कार्यको सम्पूर्ण जिम्मेवारी कार्यालय सहयोगी सूर्यप्रसाद सुवेदीको काँधमा आइपरेको हो । अस्थायी करारमा कार्यरत ३१ वर्षे सूर्यप्रसाद सुवेदी विगत ४ वर्षदेखि समन्वय एकाइमा हुनुहुन्छ । विगत ७ महिनादेखि प्रशासन अन्तर्गतका कार्य आफूले सम्हाल्दै आएको बताउँदै कार्यालय सहयोगी सुवेदीले भन्नुभयो–कुचो लगाउने, कार्यालयको गाडी चलाउनेदेखि प्रशासनिक सबै काम गर्दै आएको छु । कार्यालयमा सेवा सुरु गरेदेखि नै सबै काम गर्न थालेको हो । तीन जना प्राविधिक कर्मचारीले गर्ने काम कार्यालय सहयोगी सुवेदीले एक्लै गर्दै आउनुभएको छ ।
कार्यालय सहयोगी सुवेदीलाई यतिखेर आउँदै गरेको एसइई परीक्षा २०८१ को तयारीका कारण कामले भ्याई नभ्याई छ । सहयोगी सुवेदीका अनुसार रोल्पादेखि यही फागुन ८ गते सरुवा भई एक जना प्राविधिक सहायक स्तरका कर्मचारी कार्यालयमा आएको तर अहिले बिदामा बस्दा कामको भार जति सबै आफैंले लिनुपरेको छ । एसइई परीक्षाको आवेदन इन्ट्री, रजिष्टेशन इन्ट्री, प्रवेश पत्रमा विद्यार्थीको सिम्बाेल नम्बर कायम गर्नेलगायतका काम एक्लै गर्दागर्दै समय बितेको सहयोगी सुवेदीलाई पत्तै हुँदैन । जिल्लाबाट यस वर्षको एसइईमा नियमिततर्फ १ हजार ८ सय १३ र ग्रेड वृद्धितर्फ ५२१ जना गरी कुल २ हजार ३ सय ३४ जनाले भाग लिँदैछन् ।
बिबिएससम्मको औपचारिक शिक्षा पूरा गर्नुभएका सुवेदीले चिठीपत्र तयार पार्ने, दर्ता चलानी, बिदा स्वीकृतिको कागजात तयार पार्ने, शिक्षक बढुवाको नियुक्ति पत्र, शिक्षक निवृत्तिभरणका कागजात तयार पार्नेलगायत सम्पूर्ण कार्यालयबाट हुने सेवा पूरा गर्दै आउनुभएको छ । प्रायजसो बिहान छिटै कार्यालय आउने र बेलुका अबेरसम्म कार्यालयकै काम गर्नुपर्दा लोकसेवाको तयारी गर्न अलि समय नपाएकोमा कार्यालय सहयोगी सुवेदीको गुनासो छ । कार्यालय सुवेदी भन्नुहुन्छ–विद्युत् प्राधिकरणको प्रशासनिक सेवाको तयारी गर्दैछु । सकभर नेपालमै बसेर सरकारी सेवा गर्ने धोको छ ।
नजिकिँदै गरेको एसइई परीक्षाका लागि जिल्लामा तोकिएका विभिन्न पालिकामा हुने ९ वटा परीक्षा केन्द्रका लागि प्रश्नपत्र गन्ती गर्ने, कपी रुजु गर्ने, पोका पारेर विद्यालयको परीक्षा केन्द्रमा कपी पुर्याउनेलगायतका कामसमेत कुशलताका साथ गर्नुपर्छ भनी आफूलाई सुवेदीले मानसिक रूपमा तयार पारिसक्नु भएको छ ।
समन्वय एकाइ कार्यालयका प्रमुख मतिलाल चपाईलाई शिक्षक पेसागत सहयोग कार्यक्रम अन्तर्गत गरिने विद्यालयहरूको शैक्षिक सुपरिवेक्षण गर्दैमा फुर्सद छैन । प्रमुख चपाईका अनुसार जिल्लाको ४ वटा पालिकाका ३० वटा विद्यालयमा कक्षा अवलोकन, अन्तरक्रिया र सुझाव लिने दिने काम भएको छ । कर्मचारी अभावले काम गर्न कठिनाइ भए पनि कार्यालय सहयोगीको कामका कारण सजिलो भएको बताउँदै प्रमुख चपाईले भन्नुभयो–एक जना कार्यालय सहयोगीको भरमा लामो समयदेखि काम गर्नुपरेको छ । कार्यालय सहयोगी भई मेरो दाहिने हात हो । उहाँले सही गर्ने बाहेक सम्पूर्ण प्रशासनिक कार्य गर्नुहुन्छ । बिहान बेलुका गरेर भए पनि कार्यालयको काम सम्पन्न गर्दै आएका छौँ।