• २२ फागुन २०८१, बिहिबार

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

blog

राममणि दाहाल

मकवानपुर, फागुन २१ गते । मकवानपुर प्रहरीले छोराको हत्या अभियोगमा आमाबाबुलाई नियन्त्रणमा लिएको छ ।मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा ३ अदुवाबारीका मिनबहादुर भ्लोन र निजको श्रीमती देवीमाया भ्लोन आफ्नै छोराको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । उनीहरुमाथि आफ्नै जेठा छोरा ३९ को भरथकुमार भ्लोनको हत्या गरेको अभियोग लागेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बुधबार मिनबहादुर र देवीमायालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धानको काम भइरहेको जानकारी दिनुभयो ।

गत बिहीबार राति ८ बजेको समयमा वर्ष ६३ का मिनबहादुर र निजको श्रीमती वर्ष ६४ की देवीमाया आफ्नै घरमा खाना खाइरहेको अवस्थामा आफ्नै जेठा छोरा वर्ष ३९ को भरथकुमारले खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा बाबुआमाले घरेलु भान्साको सामानले प्रतिकार गरेका थिए । 

प्रहरीका अनुसार दुवै पक्षबिच कुटपिट हुँदा भरथकुमारको शरीरको विभिन्न भागमा गहिरो चोट लागि उपचारको क्रममा गत शुक्रबार १ः४५ बजेको समयमा मृत्यु भएको थियो । 

उहाँले उक्त घटनामा मिनबहादुर र देवीमायासमेत घाइते भई भक्तपुरस्थित अस्पतालमा उपचार पश्चात् मकवानपुर ल्याएर प्रहरी हिरासतमा रहेको बताउनुभयो ।