कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे मतदान केन्द्रमा
शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो ।
पूर्वराष्ट्रपति डा. यादवद्वारा धनुषामा मतदान
स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।
शुक्रबार साँझबाट मतगणना सुरु हुने
शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
११३ वर्षीया वृद्धाद्वारा मतदान
तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।
दुधे बालक च्यापेर मतदात
रौतहटको विभिन्न मतदानस्थलमा पुगेका महिला मतदान गर्न निकै उत्सुक देखिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार साना–साना बालबच्चा च्यापेर मतदानस्थल पुग्नुभएका महिला उत्साहका साथ मतदान गर्नुभएको छ ।
ह्विलचेयरमा पुग्नुभयो ८० वर्षीया राममाया मतदान केन्द्र
जिल्लामा स्थानीय तह निर्वाचनमा वृद्धवृद्धा, अशक्तहरु, गर्भवती महिला मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । नुवाकोटको विदुर नगरपालिका–४ का राममाया तामाङ ह्विलचेयरमा मतदान केन्द्र पुग्नुभएको हो ।
मतदाता बोकेको जीप दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।
एमाले उपाध्यक्ष पाण्डेद्वारा मतदान
पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे मतदान गर्नुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनअन्तर्गत पूर्वी चितवनको राप्ती ५ स्थित भण्डार अस्पतालको मतदान केन्द्रबाट उपाध्यक्ष पाण्डेले मतदान गर्नुभएको हो ।
उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान कार्य हुँदै
भोटराज राईउदयपुर, वैशाख ३० गते । परराष्ट्रमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा= नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गर्नुभयो । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गर्नुभएको हो । स्थानीय निर्वाचनमा उहाँ उदयपुर जिल्लामा सक्रियतापूर्वक खट्नुभएको थियो ।यसैबीच, उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भइरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो ।दुई लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै बिहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । बिहानैदेखि मतदानस्थलमा भीडभाड देखिएको छ । भीडलाई व्यवस्थित पार्दै पुरुष, महिला र वृद्धवृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ ।मतदानका लागि मौसमले साथ दिएको छ । बिहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टाँगेर मतपत्र तथा पेटिकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सञ्चालन सहज भएको जनाइएको छ ।मतकेन्द्र, मत पेटिका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।