पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्धारा मतदान
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र र संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङले इलामबाट मतदान गर्नुभएको छ । नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट बिहान मतदान गर्नु भएको हो ।
अर्थमन्त्री शर्माद्वारा मतदान
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि मतदान गर्नुभएको छ । अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
डोटीको दुई केन्द्रमा मतदान स्थगित
डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गर्नुभयो मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापामा मतदान गर्नु भएको छ । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो ।
विराटनगरमा नेता तथा उम्मेदवारबाट मतदान
विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्ने क्रम जारी छ ।
पालिका सभा अब संसदीय अभ्यासमा
स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगर सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य गरिरहेका छन् ।
हुम्लामा झडप हुँदा मतदान अधिकृत सहित तीन जना घाइते
जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते हुनुभएको छ ।
ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान
ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गर्नुभएको हो । जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
कामपा प्रमुखका प्रत्यासी सिंह र स्थापितद्वारा मतदान
काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ ।