गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार
तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।
जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग
सामुदायिक विद्यालय भवनका छाना प्रायः जस्तापाताले नै छाईएको हुन्छ । तर, जस्तापाताले छाएको भवनमा पठन-पाठन गर्न जाडो र गर्मी दुवै मौसममा उपयुक्त नदेखिएकोले जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग विधार्थी, शिक्षक र अभिभावकहरुले गर्न थालेका छन् ।
पाठ्यपुस्तक माग घटेन, दश दिनमा छापिसक्छौं : केन्द्र
जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तकको माग अझै घटेको छैन । देशका विभिन्न ठाउँबाट पुस्तकको अभाव भएको भन्दै विभिन्न्न विद्यालयबाट पुस्तकको माग आउनेगरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यले बताउनुभयो । अबको १० दिनमा सबै पाठ्यपुस्तक छापिसक्ने केन्द्रले जनाएको छ ।
सार्वजनिक विद्यालय सुधार अभियान सुरु
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने बताउनुभएको छ। आइतबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भइसकेको बताउनुभयो। “१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ” उहाँले भन्नुभयो, “१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन्। अब तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ।”
स्नातकदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्छ: प्रा.डा. महर्जन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रा.डा. लक्ष्मीबहादुर महर्जनले स्नातकतहदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शनिबार यहाँस्थित मंगल बहुमुखी क्याम्पसको ‘स्वागत तथा विदाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अध्ययनलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन अनुसन्धान अपरिहार्य रहेको बताउनुभएको हो ।
'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक विमोचन
काठमाडौं, भदाै ४ गते । काँडाघारीस्थित अक्षरा स्कुलले 'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन गरेको छ । वरिष्ठ चिकित्सक प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा. भगवान कोइराला, अक्षरा स्कुलका प्रधानाध्यापक अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएकाे हाे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संस्कारबारे सिकाउन नसकेकाले परीक्षामा राम्राे अंक ल्याएर उत्तीर्ण गरेकाहरू जीवनको परीक्षामा असफल हुने गरेकाे बताउनुहुँदै भन्नुभयाे, ''संसार बदल्ने हो भने पहिला आफैँ बदलिनुपर्छ, त्यसकाे लागि संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।''पुस्तकबारे चर्चा गर्नुहुँदै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ''अहिले विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।'' स्कुलका संस्थापक एवं प्रधानाध्यापक अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुल स्थापना गरेको बताउनुभयो । अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।
पहिले बढुवा, पछि घटुवा
सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ। शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने र नतिजा प्रकाशन गर्ने निकाय गम्भीर नहुँदा यस्तो भएको हो। जसका कारण पहिलो पटकको नतिजामा बढुवा भएका शिक्षकहरू संशोधित सूचनामा घटुवा हुनुपरेको छ।
कक्षामा तीन जना विद्यार्थी, दुई शिक्षक
राजन रावतहुम्ला, भदौ ३ गते । जिल्लाको एक विद्यालयमा चौध जना विद्यार्थी भर्ना भए पनि तीन जना विद्यार्थी मात्र कक्षामा नियमित उपस्थित हुनेगरेका छन् । सिमकोट गाउँपालिका –३ को लाङ्दु गाउँको महाकाल प्राथमिक विद्यालयमा हाल नियमित पठनपाठनमा सहभागी हुने बिधार्थी सङ्ख्या तीन रहेको विद्यालयका शिक्षकले जनाएका छन् ।विद्यालयका प्रधानाध्यापक भिमकुमार राईले नियमित विद्यालय आउने बिद्यार्थी तीन जना रहेको बताउनुुभयो । भर्नाको बेला कक्षा ५ सम्म चौध जना बिद्यार्थी भर्ना भए पनि नियमित अध्ययनका लागि विद्यालय आउने बिद्यार्थी कम रहेको बताउनुुभयो । सो विद्यालयमा दुई जना दरबन्दीका शिक्षक रहनुभएको छ । विद्यालय आउने बिधार्थीमा कक्षा २ मा २ जना र कक्षा ४ मा एक जना रहेको प्रधानाध्यापक राईले बताउनुुभयो । कक्षामा एक जना शिक्षकले दुई बिधार्थी र अर्को शिक्षकले एक जना बिधार्थी राखेर अध्यापन गर्नुपर्ने बाध्यता रहेको बताउनुुभयो । विद्यालयको रेकर्डअनुसार कक्षा १ मा दुुई जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा चार जना, कक्षा ४ मा दुुई जना र कक्षा ५ मा तीन जनाको उपस्थिति देखिन्छ । भर्ना भएका सबै बिधार्थी विद्यालयमा उपस्थिति नभएको प्राधानाध्यापक राईले बताउनुुभयो । विद्यालय रहेको गाउँमा लामा र दलित समुदायको बसोवास छ । लामा समुदायले सदरमुकाम सिमकोट र जिल्ला बाहिर बच्चा पढाउने गर्दैआउनुभएको छ । दलितका बालबालिका मात्र सो विद्यालयमा भर्ना भएका छन् । लामा बस्ती भए पनि चार जना मात्र लामाका बिधार्थी विद्यालयमा भर्ना भएका छन् ।नियमित विद्यालय आउने बिद्यार्थीलाई पढाउनै पर्ने बाध्यता भएको प्राधानाध्यापक राईले बताउनुभयो । गाउँपालिका शिक्षा शाखाका नायव सुब्वा कृष्णप्रसाद आचार्यका अनुसार विद्यालयमा विद्यार्थी संख्या कम भएपनि दिवाखाजाको सुविधा प्रदान गरिदैआएको बताउनुभयो । विद्यालयको अनुगमन गरी सो सुविधा दिने नदिनेबारेमा निर्णय लिइने उहाँले बताउनुभयो ।विद्यालयमा बिद्यार्थी तीन जना मात्र कक्षामा उपस्थित हुने भएपछि अब सो विद्यालयका एक जना शिक्षकलाई अन्यत्र काज सरुवा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार
बालबालिकाहरुले विद्यालयमै दिवा खाजा खान पाएपछि बालबालिका हर्षित हुनुका साथै पढाइमा पनि निकै सुधार आउन थालेको विद्यालयहरुले जनाएको छ ।