कोषबाट दस अर्ब बयालिस करोड भुक्तानी
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १० अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा आधारित सुरक्षा योजना लागु गरेको साढे पाँच वर्षको अवधिमा ६२ अर्ब ७४ करोड सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो ।
वैदेशिक रोजगारी महिलाको सङ्ख्या वृद्धि
वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या आर्थिक वर्ष २०७९/८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ । यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन ।
अठार स्थानीय तहमा विद्युत् पुग्न बाँकी
नेपालका ७५३ स्थानीय तहमध्ये १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी रहेको देखिएको छ । ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।
बाढीले पुल बगाउँदा जनजीवन कष्टकर
गौशाला नगरपालिका-१२ कृषि सडकस्थित जरलाही खोलको पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ ।
काँक्रो खेतीबाट मनग्य आम्दानी
सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रो खेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यस वर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”
सहुलियत ऋण उपलब्ध गराउन माग
जनता समाजवादी पार्टी नेपालले कृषि र कृषिमा आधारित उद्योगहरू स्थापना र सञ्चालन गर्न सरकारले बैङ्कमार्फत ऋण उपलब्ध गराउन माग गरेको छ । जसपा नेपालको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो माग गरेको हो । कृषि उद्योग स्थापनाका साथै प्रविधि एवं अन्य आवश्यक सहुलियत प्रदान गर्न जसपाले माग गरेको छ ।
कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढ्यो, निक्षेप परिचालन तेह्र प्रतिशतले वृद्धि
गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।
सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने
यो वर्ष सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो ।
भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ ।
वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।
तनहुँमा करिब आठ करोड विद्युत बक्यौता
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो ।
बिस प्रतिशतले राजश्वमा वृद्धि
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।
किसानलाई यथाशीघ्र भुक्तानी गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुध किसानको रकम यथाशीघ्र भुक्तानी गर्न दुग्ध विकास संस्था (डिडिसी) लगायतका निजी डेरीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आइतबार भएको दुग्ध व्यवसायीसहितको छलफलमा मन्त्री अधिकारीले सो निर्देशन दिनुभएको हो । किसानबाट उधारोमा दुध खरिद गरी डेरीहरूले नगदमा बेच्ने गरेको र सो रकम अन्यत्र लगाउने गरेको बताउँदै उहाँले त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । आफूले पद सम्हालेदेखि दुध किसानका समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले डिडिसीमार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास भइरहेको बताउनुभयो ।
परिवर्तनका लागि लगानी अभिवृद्धिको वातावरण आवश्यक
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहको बताउनुभएको छ । उहाँले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास भइरहेको भन्दै निजी क्षेत्रसँग निरन्तर संवाद गरी यस्तो वातावरण निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
बैङ्कहरूले घटाए निक्षेपको ब्याजदर
पछिल्ला महिना लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले भदौ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर कायम गरेका हुन् । बैङ्कहरूले प्रकाशित गरेको ब्याजदर अनुसार औसतमा निक्षेपको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको छ । सञ्चालनमा रहेका १२ वटा बैङ्कले भदौका लागि ब्याजदर घटाएका छन् भने छ वटाले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै दुई बैङ्कले भने ब्याजदर बढाएका छन् ।
चिनी खरिदका लागि व्यापारिक फर्म छनोट
सरकारले १९ हजार मेट्रिक टन चिनी भारतबाट खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्म छनोट गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारत चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरिएको हो । चिनी खरिदका लागि छनोट भएका सात वटा क्रमशः मयुरी टे«डलिङ्क भक्तपुर, दुई हजार आठ सय मेट्रिक टन र प्रगाम टे«डर्स विराटनगर, श्री शिवाय इन्टरनेसलन विराटनगर, विशाल टे«डलिङ्क काठमाडौँ, प्रणाम इन्टरनेसलन विराटनगर, भिजन इन्टरप्राइजेज, शिवशङ्कर टे«डकन्सर्न काठमाडौँले दुई हजार सात सय मेट्रिक टनका दरले खरिद गर्ने छ । चिनी खरिदका लागि छनोट भएका व्यापारिक फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र थोरैमा दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक फर्म छनोट भएका छन् । चिनी खरिदका लागि छनोट भएका प्रतिष्ठानले निर्णय भएको चिनी खरिद गरिसक्नुपर्ने छ ।
वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन र सेवा क्षेत्रमा आकर्षण
चालु आवको पहिलो महिना (साउन) मा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएका छन् ।उद्योग विभागका तथ्याङ्क अनुसार साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेको हुन् ।
रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार मसान्तसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । आव २०७९/८० मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
गौतम बुद्ध विमानस्थलमा उडान गर्न दुई कम्पनीको तयारी
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी कात्तिक ११ गतेदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार भैरहवामा उडान गर्न कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट मागसहित उडान तालिका स्वीकृत गर्न साउन २९ गते पत्राचार गरेका हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जजिरा एयरले कुवेतबाट र बिज एयरले अबुधाबीबाट साताको चार/चार दिन उडान गर्न अनुमति मागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उडान अनुमतिसँगै उक्त कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गरेलगत्तै उडानको प्रक्रिया सुरु हुने छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,यात्रुको चाप थेग्नै कठिन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिनुभएको छ ।
चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो
गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
नेपाली हाते कागज व्यवस्थापन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाली हाते कागज उद्योगमा घाममा सुकाइएको कागज व्यवस्थापन गर्दै उद्यमी महिला । नेपाली हाते कागज सरकारी कार्यालयमा लेखापढी गर्न तथा विदेशसमेत निर्यात हुँदै आएको छ ।