• १२ कात्तिक २०८१, सोमबार

सुप्रिम सहकारीपीडितको चिन्ता सडक दबाबले न्याय नमरोस्

blog

फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक ११ गते । बुटवलको सुप्रिम सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बचत अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान अगाडि बढिरहेका बेला रास्वपाले दिनहुँ आन्दोलन गरेपछि पीडितहरूले यस्तो बताएका हुन् । आन्दोलनले कतै न्याय निरूपणमा बाधा पुग्ने त होइन भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

सुप्रिम सहकारीका पीडितहरूको सङ्घर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले निष्पक्ष न्याय सम्पादन हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । “अब हाम्रो अन्तिम आशा गर्ने ठाउँ भनेको अदालत हो, अदालतले दोषीलाई कारबाही गरेर हामीलाई पक्कै न्याय दिने छ, अनि हामीले बचत फिर्ता पाउने बाटो खुल्नेछ,” उहाँले भन्नुभयो । कतिपय पीडितहरूले रास्वपाका कार्यकर्ताले फोन गरेर आन्दोलन नगर्न दबाब दिएको बताएका छन् । 

आफूहरू सरकारसम्म आवाज पुर्‍याउनका लागि लामो समयदेखि आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष नेपालले बताउनुभयो । “हामीले धेरै निकायमा हाम्रा आवाज पुर्‍याएका छौँ,” उहाँले भन्नुभयो, “बचत रकम डुबेपछि घरबारविहीन हुनु परेको छ । सडकदेखि संसद् भवनसम्म हाम्रा आवाज पुर्‍याउन लागिरहेका छौँ ।” 

तिलोत्तमा जानकीनगर निवासी दुर्गा रिमालले सहकारीमा आफ्नो ६० लाख डुबेको बताउनुभयो । “सहकारी बचत अपचलनको आरोपमा रवि लामिछाने पक्राउ पर्दा रास्वपाले गरेको आन्दोलनका कारण हामी चिन्तित भएका छौँ, कतै हाम्रो बचत फिर्ता नभएर बिचल्ली त हुँदैनौँ भन्ने डर छ,” उहाँले भन्नुभयो । ठुलो रकम सुप्रिममा डुबेपछि घरबाटसमेत आफू अपहेलित हुनु परेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पैसा डुबेपछि घरमा झगडा हुने गरेको छ । कति साथीहरूको सम्बन्धविच्छेदसमेत भएको छ । हामीलाई कसले न्याय दिन्छ ।”

सहकारीका अर्का बचतकर्ता बुटवल–१० निवासी टामलाल ज्ञवालीले प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा मुद्दा चलिरहेको विषयमा सडकबाट दबाब सिर्जना गर्नुले रास्वपाको सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको बताउनुभयो । “हाम्रो बचत डुबेको छ, दोषी या निर्दोष जे भए पनि अदालतले फैसला गर्छ तर सडकबाट दबाब सिर्जना गर्ने कुराले हामी पीडितहरूलाई तर्साएको छ,” उहाँले भन्नुभयो । ज्ञवालीले सुप्रिममा आफ्नो १७ लाख रुपियाँ डुबेको बताउनुभयो । 

बुटवलकी राजकुमारी लगौंटिया दुवै आँखा देख्नुहुन्न तैपनि उहाँले बत्ती कातेर केही पैसा जम्मा गर्नुभएको थियो । त्यो पैसा सहकारीमा राखे ब्याज धेरै दिने भन्दै सुप्रिम सहकारीका कर्मचारीले दिनदिनै फकाउन थालेपछि राजकुमारीले दुई लाख ७५ हजार रुपियाँ सुप्रिममा बचत गर्नुभयो । “म आँखा देख्दिनँ, उमेरले वृद्ध भइसकेँ, बत्ती कातेर केही पैसा जम्मा गरेकी थिएँ, त्यही पनि सहकारीका मान्छेले खाइदिए,” राजकुमारीले भन्नुभयो ।

भैरहवामा व्यवसाय गर्दै आउनुभएकी दुर्गा चन्दले सुप्रिमले आफ्नो ३० लाख रुपियाँ खाइदिएको बताउनुभयो । सहकारीका नाममा सर्वसाधारणको करोडौँ रकम ठग्नेलाई कारबाही गर्दा सडक आन्दोलन गर्नु जायज नभएको उहाँले बताउनुभयो । 

सहकारीमा मुद्दती बचतकर्ताको बढी रकम डुबेको हो । राम्रो ब्याजदर दिएपछि उनीहरूले सहकारीमा मुद्दती खाता खोली लाखौँ रकम जम्मा गरेका थिए । सो सहकारीबाट विभिन्न व्यक्तिका नाममा करोडौँ रकम ऋण लगानी भएको छ । प्रहरीको प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राईदेखि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा पनि ऋण लगानी भएको देखिएको छ । 

सहकारीबाट आफूहरू ठगिएको भन्दै एक हजार आठ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तिनै पीडित न्यायको माग गर्दै लामो समयदेखि सडक प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ । सचिव पुनसहितका छ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन् । ८६ करोड १८ लाख ठगी भएको पीडितले बताए पनि प्रहरी अनुसन्धानबाट एक अर्ब दुई करोड रकम हिनामिना भएको देखिएको छ । 

त्यस्तै गोर्खा मिडियामा सहकारीबाट १४ करोड २१ लाख रुपियाँ गएको र जसमा पूर्वडिआइजी छविलाल जोशीका नाममा दुई करोड ५० लाख र रवि लामिछानेका नाममा दुई करोड गएको छानबिन समितिको प्रतिवेदनमा देखाइएको छ । रूपन्देही जिल्ला अदालतले जोशी र लामिछानेसहित १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।