• १२ कात्तिक २०८१, सोमबार

नेपालमा लगानी गर्न ढकालको अनुरोध

blog

गोरखापत्र समाचारदाता

काठामाडौँ, कात्तिक १० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्सारहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्नुभयो । 

अमेरिकाको वासिङटनमा युएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजारसमेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको हो । 

उहाँले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो । 

यसै गरी भारतसँग भएको १० हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बङ्गलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको अमेरिकी लगानीकर्तालाई उहाँले जानकारी दिनुभयो । 

नेपालको प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गर्नुभयो । संसारको सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ्य वातावरणसहितको हिल स्टेसन विकास गर्न सकिने सम्भावना उहाँले लगानीकर्तालाई देखाउनुभयो । 

लगानी सहजीकरणका लागि महासङ्घले एफडिआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पार्नुभयो । महासङ्घले एफडिआई हेल्प डेस्कमार्पmत सहजीकरण गरिरहेको छ ।