घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले ओरालो लागेर ९४ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।
मजदुर कटौती गर्दै उद्योग
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका एमएस वायरमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । आव २०७८/७९ को बजेटमा करको दर बढाइएकाले एमएस वायरमा आधारित उद्योग सञ्चालन समस्यामा परेको भन्दै कोरिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाएका हुन् ।
बन्द तीन उद्योग सञ्चालन गरिने
लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुुराम गौतमले जानकारी दिनुभयो ।
भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि
अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।
आयात प्रतिस्थापन गर्न उद्योग स्थापना
मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापना हुने भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकूलित हुने बताइएको छ ।
चार महिनापछि सिंहदरबार वैद्यखानामा औषधि उत्पादन
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो ।
अब अनलाइनबाट रकम दाखिला
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।कोषको कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले अनलाइन प्रणालीबाट सोझै खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।
भारतीय तेल मिसाएर खाने तेल उत्पादन
कलैयामा रहेको खाने तेल उद्योगले भारतीय ब्रान्डका तेल मिसावट गरेर बेच्ने गरेको पाइएको छ ।
निगमको महत्त्वपूर्ण योजना अलपत्र
विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन ।