• १३ वैशाख २०८१, बिहिबार

बिजुली अभावले उदयपुर सिमेन्ट उद्योग बन्द

blog

उदयपुर, असार २७ गते । उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत असार ९ गते रातीदेखि बन्द उद्योगलाई दैनिक करिब एक करोड घाटा रहेको उद्योगका नायव महाप्रवन्धक विजय ठाकुरले बताउनुभयो । 

उद्योग पूर्णरुपमा सञ्चालन हुन ६ मेगावाट आवश्यक पर्नेमा हाल २ मेगावाट मात्र प्राप्त भइरहेको, त्यसमा पनि भोल्टेज गडबडी भइरहने र निकै कम आएकाले उद्योग सञ्चालन हुन सकेको छैन । उद्योगले मुख्यगरी क्लिङ्कर उत्पादन गर्न नसक्दा सिमेन्ट उत्पादन र विक्री ठप्प भएको छ ।

गत असार ९ गते राती चट्याङ्ले सिरहाको लहानस्थित विद्युत सबस्टेशनको ट्रान्सफरमरमा क्षती पुर्याएकोमा मर्मतमा ढिलाई भएको छ । मर्मतका लागि अझ एकहप्तासम्म लाग्नसक्ने विद्युत प्राधिकरण, उदयपुर वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो । 

बिग्रिएको ट्रान्सफरमर मर्मत गरी पूर्ण क्षमतामा काम नगरेसम्म उद्योग चल्ने अवस्था छैन । उद्योगले दैनिक ६ सय टन क्लिङकर उत्पादन गर्दै आएको थियो भने दैनिक आठ हजार बोरासम्म सिमेन्ट विक्री गर्दै आएको थियो । हाल भने उद्योगले उत्पादन गर्ने गैडाछाप सिमेन्ट बजारमा अभाव छ । नेपालको सबैभन्दा गुणस्तरीय सिमेन्टमा परिचित गैडाछाप सिमेन्ट अभावमा विभिन्न भवन संरचनाहरु निर्माण प्रभावित बनेको छ ।


Author
भोटराज राई

उहाँ उदयपुरबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।