• ४ वैशाख २०८१, मङ्गलबार

गुणस्तरहीन बन्दै असारे योजना

blog

उदयपुर, असार २६ गते । जिल्लाको त्रियुगा नगरपालिकाको वडा नं. ८ झोडामा गरिएको सडक योजना गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरुले विरोध जनाएका छन् । निर्माण समाग्रीहरु गुणस्तरहीन सामग्री प्रयोग गरिएको र मापदण्ड अनुसारको काम नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

स्थानीय उमेश रायमाझीका अनुसार खाटमन्दिरदेखि झोडाटोलससम्म पिच हुनुअघिको सडक वेस बनाउने योजना गुणस्तरहीन भएको हो । ९९ लाख ७९ हजारको बजेट योजनाको काम मापदण्ड अनुरुप नरहेको आरोप उहाँको छ । उपभोक्ता समितिमार्फत गरिएको काम अपारदर्शी भएपछि उपभोक्ताहरुले प्रश्न उठाएका छन् । उपभोक्ताहरुलाई बजेट र स्टीमेटसम्म थाहा नदिएको उहाँको भनाइ छ ।  

उपभोक्ता पृथ्वीबहादुर कार्कीका अनुसार स्थानीयले गुणस्तरको विषयमा कुरा उठाएपछि योजना विवादित बनेको छ । विवादकाबीच समितिले काम  अगाडी बढाएको छ । प्रदेशमन्त्री हिमाल कार्कीले आप्mनै मञ्त्रालयबाट  रकमान्तर गरी सो योजना गाउँको लागि पारेका थिए । 

त्रिनपा–५ श्रीपुरमा सडक डिभिजन कार्यालय लहानले गरेको नालीको कामको गुणस्तरमा पनि उस्तै प्रश्न उठेको छ । नवरङ्ग कन्ट्रक्शनले ठेक्का लिई थालेको काम सुरुमै गुणस्तरहिन देखिए पछि स्थानीयले विरोध जनाएका छन् । 

स्थानीय धनप्रसाद भण्डारीका अनुसारसो योजनामा नालीको बेस राम्रो नलगाइ हतारमा नाली बनाउन थालेको र निर्माण सामग्रीहरु गिट्टी, बालुवा, ढुङ्गा आदि कमसल ल्याएपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयको विरोधपछि ठेकेदारले करिब ९० लाखको उक्त योजनाको काम अगाडि बढाउन सकेको छैन । 

यी दुई प्रतिनिधि घटना हुन् । अधिकांश योजनाहरु हतार हतारमा गरिने र टालटुले हुने गरेका छन् । यो बेला गरिएका अधिकांश कामहरुमा निर्माण सामग्रीहरु गुणस्तरहिन हुनुका साथै मापदण्ड अनुरुप नभएको उनीहरुको आरोप छ । 

स्थानीयहरुका अनुसार नियमन निकायले पनि यतिबेला राम्रो अनुगमन नगर्ने हुदा उपभोक्ता समिति तथा ठेकेदारको बढि लापरवाही चल्ने गर्छ । मापदण्ड विपरित काम गर्ने, गिटि, बालुवा, ढुङ्गा गुणस्तरहिन हुने, सिमेन्ट कम मात्रा राखिने गरिन्छ । यसरी बनेका संरचनाहरु कमजोर हुने, भत्किने र प्रयोगमा नआउने हुन्छन् । 

पूर्व जिल्ला समन्वय उपप्रमुख गंगा राईका अनुसार काम ढिलाई हुनु र गुणस्तरहिन हुनुमा सरकार स्वयम् पनि जिम्मेवार छ । संघ र प्रदेशबाट बजेट ढिलो आउनु, सम्झौता ढिलो हुनु, ठेक्का प्रक्रिया झन्जटिलो हुनुु, उपभोक्ता समितिमा झमेला वा ढिलाई हुनु जस्ता कारणले पनि काम प्रभावित हुने गरेको छ । 


Author
भोटराज राई

उहाँ उदयपुरबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।