• २९ फागुन २०८२, शुक्रबार

अलपत्र बाल अस्पताल सञ्चालनका लागि प्रशासनलाई ज्ञापनपत्र

blog

निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घोराही बनाऔ अभियान टिम । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन २९ गते ।
घोराही उपमहानगरपालिका–१६ सर्रा स्थित अलपत्र अवस्थामा रहेको बाल अस्पताल भवनको संरक्षण तथा सञ्चालनका लागि पहल गर्न माग गर्दै घोराही बनाऔँ अभियानले जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका संयोजक सविन प्रियाशनक नेतृत्वमा गएको टोलीले  निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालन हुन नसकेको बाल अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पुनले बाल अस्पताल सञ्चालनको विषय महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसबारे आवश्यक समन्वय र पहल गर्ने बताउनुभएको छ ।

२०६६ सालमा स्थापना भएको बाल अस्पताल केही समय सञ्चालनमा आए पनि पछिल्लो समय सेवा बन्द भई भवन अलपत्र अवस्थामा रहेको छ । अस्पताल सञ्चालन नहुँदा स्थानीय बासिन्दा बालबालिकाको उपचारका लागि अन्यत्र धाउन बाध्य भएका छन् ।

अस्पताल भवनको संरक्षण गर्दै प्रभावकारी रूपमा सेवा सञ्चालन गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग अभियानले गरेको हो ।