बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रुपियाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो ।
सुपारी बोकेका आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
टेलिकमको अफर
नेपाल टेलिकमले साउन १ देखि समर अफर लागू गरेको छ । टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ ।
अढाई वर्षपछि किस्ता भुक्तानी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अढाई वर्षपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ता तिरेको छ । निगमले असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको एक अर्ब ३५ करोड रुपियाँ भुक्तानी गरेको हो । निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब रुपियाँ ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको वार्षिक ब्याज मात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ ।
खारेज हुनबाट जोगिए वैदेशिक रोजगार कम्पनी
वैदेशिक रोजगारीमा वार्षिक एक सय जनाभन्दा कम श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी खारेजीमा पर्नबाट जोगिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट वैदेशिक रोजगार नियमावली (पाँचौ संशोधन), २०७६ मा भएको यससम्बन्धी व्यवस्था तत्कालका लागि हटाइएपछि म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका हुन् ।
उद्योगमा लगानी वृद्धि
मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा उद्योग दर्ता सङ्ख्या बढेको छ । आव २०७८/७९ मा उद्योग दर्ता वृद्धि भएसँगै त्यसका लागि लगानी प्रस्तावमा वृद्धि भएको हो । कोभिड–१९ महामारी सामान्य भएसँगै लगानीमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता वृद्धि भएको हो ।
उद्योगको उत्पादन क्षमता र आय खस्कियो
नेपाली उद्योगहरूको उत्पादन क्षमता खस्कँदै गएको पाइएको छ । बढ्दो ब्याजदर र मागमा आएको कमीका कारण उद्योगहरूको आय खुम्चन पुगेको नेपाल उद्योग परिसङ्घले गरेको एक अध्ययनले देखाएको छ । नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर तयार पारिएको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक विवरणअनुसार उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्रै उपयोग गर्न सकेका छन् जुन अघिल्लो त्रैमासमा ७१ प्रतिशत थियो ।
बीमा कम्पनीको सङ्ख्या आधा घट्दै
नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।
वन समूहको बहुउपयोग नीति
डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो ।