• ९ माघ २०८१, बुधबार

सङ्गीत र नाट्यकला भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति : राष्ट्रपति पौडेल

blog

काठमाडाैं, असार ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत र नाट्य कला समाजको अभिन्न अङ्ग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ। शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । 

"नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले हामीलाई धरोहरका रुपमा छोडिगएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्", उहाँले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यीनमा नविन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”

उहाँले हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयाे । हाम्रो देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सधैं सचेत र संवेदनशील रही सांस्कृतिक उत्थान एवम् राष्ट्रिय एकतालाई सवल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आउनु खुशीको विषय भएको उहाँको भनाइ थियो ।  

नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको योगदान अविस्मरणीय रहेको उहाँले उल्लेख गर्नुभयो । “संस्कृति नेपालीहरूको जीवनशैली हो र संस्कृति नेपालीको पहिचान पनि हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

सरकारले नेपाली सङ्गीत, नृत्य एवम् नाटक संस्कृति र वाङ्मयको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको र प्रतिष्ठानले देशभर सङ्गीत, नृत्य र नाटकसम्बन्धी उत्सव, प्रशिक्षण, खोज, सम्मान र अन्वेषणात्मक कार्य गरिरहेको जानकारी पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।  

“स्रष्टाको सम्मानले प्रतिभालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुने प्रेरणा प्रदान गर्दछ, अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरु अर्थपूर्ण, अरु गतिशील पार्नु समयको आवश्यकता रहेकाे बताउनुभयाे । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र केसी, नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गर्नुभयो ।