पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रुपियाँभन्दा बढी बजेट फिर्ता भएको छ ।
खरबुजाको विषादी अवशेष परीक्षण
झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ ।
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छः जीतजङ्ग बस्नेत
राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ ।
कर्मचारीको बोझ थप्दै स्थानीय तह
स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्ने तयारी गरेका छन् । अहिले ७५३ स्थानीय तहमध्ये करिब ८० प्रतिशत स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी कर्मचारीको दरबन्दी बढाउँदै गएका हुन् ।
गर्मीले आकुलव्याकुल तराई–मधेश
तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लु (हिट वेभ) चलिरहेको छ । तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।
सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले गलेको टिप्पणी गर्नुभएको छ।
देश बनाउन विकास, शिक्षा र कृषि नीति परिवर्तन हुनुपर्छ : सांसद सुदन किराती
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ ।
सरकार र शिक्षकहरूबिच छलफल सकियो, पुनः छलफल हुने
काठमाडौँ, वैशाख १३ गते । सरकार र शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासङ्घका प्रतिनिधि बिचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबिच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो । उहाँले शिक्षक महासङ्घ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरू मन्त्री पन्तसँग छलफल भएको बताउनु भयो । उहाँले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल शिक्षक महासङ्घ अहिले आन्दोलनमा छ । आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्यूको उपस्थितमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ ।’नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले शुक्रवार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताउनु भयो । उहाँले अहिले नै निष्कर्षमा पुगी नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरूका माग पूरा गरेको खण्डमा निष्कर्षमा छिटै पुग्ने बताउनु भयो । उहाँले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि शिक्षक महासङ्घलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभई गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताउनु भयो । केही समय लाग्न सक्ने तर निकास दिएरै छोड्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी औपचारिक रूपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पछिल्लो समय हिजो मात्रै दोस्रो पटक गरिएको परिपत्रको आधारमा हामी औपचारिक रूपमा छलफल र संवादमा छौँ । हामी निष्कर्षमा पुगेका छैनौँ । निष्कर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले हामीले पेस गरेका माग मुद्दामा यथेष्ट जानकारी गराउने र जानकारी गराइसकेपछि मात्रै हामी निकासमा आउनेछौँ । समग्र विद्यालय मुलुकभरका, ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि नेपाल शिक्षक महासङ्घको काँधमा छ । तसर्थ हामीले शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि होइन, गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन लिएर आऊ भन्ने अभियानमा सडक आन्दोलन जारी छ । आज आन्दोलनको ८५ औँ दिन हो । सडक आन्दोलन गरेको आज २५ औँ दिन हो । केही समय लाग्न सक्छ तर हामी निकास दिन्छौँ । निकास दिने मुख्य निकाय भनेको शिक्षा मन्त्रालय र नेपाल सरकार हो ।’विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरूको अडान कायमै रहेको छ ।
प्रधानमन्त्री ओली लुम्बिनीमा
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १३ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गर्नुभएको हो । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको छ ।फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारी पुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबिचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एन्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । फेस्टिभलमा ४० देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । फेस्टिभलमा ५ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय भएको छ ।
डोम समुदायका लागि निर्मित ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
सिरहा, वैशाख १३ गते । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ । यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताउनुभयो । “तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।” उहाँका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले रू तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो । यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुभएको थियो । आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गर्नुभएको थियो । यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ । उहाँले भन्नुभयो, “अरू सुविधामा सरकारले बेवास्ता गरेका कारण उक्त घरमा नबसेर यही झुप्रोमा बस्नुपरेको हो ।” सरकारले घरसम्म जाने बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिए आफूहरू तत्कालै उक्त घरमा सर्ने उहाँले बताउनुभयो । पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गुर्नभयो । उहाँले भन्नुभयो, “यदी उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।”वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने प्रवृत्ति रहेको छ । हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उहाँले बताउनुभयो । यहाँका स्थानीय जनता आवस कार्यक्रमले कतिपय घरहरू पूर्णरूपमा निर्माण नै नभई जीर्ण भएको भन्दै सरकारको लगानी बालुवामा पानीसरह भएको बताउँछन् । घर निर्माण भइसकेपछि केही डोम परिवार निकै हर्षित भए भने आधा दर्जन बढी घरहरू बेवारिसे र जीर्ण बने । यसको उपयोगिताको लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।
गलेश्वर महादेवको १०८ रोपनी जग्गा गायब
पवित्र तीर्थस्थल गलेश्वर धाम मन्दिरको नाउमा रहेको झन्डै एक सय आठ रोपनी गुठीको जग्गा गायब भएको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालनका लागि स्थापना गरिएको गुठीको जग्गा गलेश्वर शिवालय क्षेत्र विकास कोषको तथ्याङ्क अनुसार हराएको हो । जिल्ला मालपोत कार्यालयको रेकर्डमा जमिन देखिए पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष सँग त्यसको कुनै पनि रेकर्ड देखिएको छैन ।
सत्ता साझेदार शीर्ष नेता एकमत
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताले दुई दलबिच भएको सहमति अनुसारै सरकार अघि बढ्ने प्रस्ट पार्नुभएको छ ।
मन्त्रीलाई कुराएर फर्किए शिक्षक
बिहीबार मात्रै कार्यभार समाल्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक विज्ञप्ति जारी गरेर शुक्रबार आन्दोलनरत शिक्षकलाई वार्ताका लागि औपचारिक आह्वान गर्नुभयो । सोही आह्वान अनुसार मन्त्रीलाई भेट्ने बहानामा शिक्षकका प्रतिनिधि वार्तामा बस्न तयार भए ।
‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’
विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् ।
भूकम्पको एक दशकः अझै सकिएन सात तले दरबारको पुनर्निर्माण
गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (सात तले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुननिएर्माण अझै पूरा भएको छैन ।
‘निर्णय नहुँदै घिसिङ हटाएको समाचार बाहिरिएको थियो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ ।
सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्रः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ ।
प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्ने बताउनुभएको छ ।
बजेट अधिवेशन (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुुनाउनुृ हुने कार्यसूची रहेको छ ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा गर्ने भनेको सम्बोधन स्थगित भएको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बेगनास तालमा जलकुम्भी सहित आजका तस्बिर (फोटो फिचर)
पोखरा उपत्यकाका ताल मध्येको दोस्रो ठुलो ताल बेगनास तालमा रहेका जलकुम्भी झार । झार फैलँदा ताल कुरूप हुनुका साथै डुङ्गा सञ्चालनमा समेत समस्या आउन थालेको छ । शुक्रबार बिहान देशका विभिन्न क्षेत्रबाट समाचारदाताले कैद गरेका तस्बिर :
थाइराइडमा हुने क्यान्सर
मानव शरीरको घाँटीको अघिल्लो भागमा श्वास नलीको दुवैपट्टि पुतली आकारमा थाइराइड ग्रन्थी रहेको हुन्छ ।