• १४ वैशाख २०८२, आइतबार

गर्मीले आकुलव्याकुल तराई–मधेश

blog

अत्यधिक गर्मी र प्रचण्ड घाम छल्नका लागि रुखको छहारीमा बसेका औरहीका स्थानीयवासी । तस्बिर : अजय शाह

अजय साह 

गौशला (महोत्तरी), वैशाख १४ गते । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लु (हिट वेभ) चलिरहेको छ । तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धेरै गर्मीका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो त घरबाहिर निस्किनै नसकिने अवस्था छ ।

महोत्तरीको औरही नगरपालिका–२ का किसान महिला मञ्जुदेवी यादवले भन्नुभयो, “खेतीपातीको काम त बिहानबेलुका गर्छौं । यो साल त साह्रै गर्मी भयो । पहिला पो घाम भयो, यसो शीतलमा बसौंभन्दा ठुल्ठुला रूख हुन्थे, अहिले त रूख पनि कहाँ 

पाउनु ? बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । घाम त छाता र सप्कोले छल्दै आएका छौ ।” गौशला नगरपालिका–५ की सुनिताकुमारी भन्नुहुन्छ, “घरबाट निस्किँदा घामबाट जोगिन सनब्लकको प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु हुन्छ ! घाम सहनुभन्दा अर्को विकल्प नै के हुन्छ र ?”

औरहीका युवा प्रेमबाबु यादव जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्ने बताउनुहुन्छ । “गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नु पर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनु पर्छ । अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनु पर्छ,” उहाँको सुझाव छ । बर्दीबास नगरपालिकामा अटोरिक्सा चलाउँदै आउनुभएका भीमबहादुर आले घरतिर आम्दानीको स्रोत केही नभएपछि यहाँ आएर अटोरिक्सा चलाउने गरेको बताउँदै भन्नुहुन्छ, “आजभोलि त असाध्यै गर्मी छ, बिहान बेलुका मात्रै अटो चलाउँछु । दिउँसो त कोहीबाहिर निस्कँदैन । दिउँसो अटो चलाउन पनि सकिँदैन । बिहान बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ । घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान बेलुकाको छाक टार्न पनि अटो चलाउनै प¥यो ।”

बर्दीबास नगरपालिका–१ की सरिता अधिकारी भन्नुहुन्छ, “एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभरि घमौरा आएका छन् ।”

अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ । जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको बर्दीबास–३ का दुर्गा परियारको भनाइ छ । “बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउला जस्तो हुन्छ तर यो काम नगरी सुखै छैन । मैले काम गर्नै पर्छ,” घर निर्माणको काम गर्दै उहाँले भन्नुभयो । गर्मी बढ्दै गएको भए पनि उहाँ जस्तै महिला कामदारहरू काममा व्यस्त छन् ।

जलेश्वरका जितेन्द्र महरा रिक्साचालक हुनुहुन्छ । गर्मी बढ्दा यात्रु पाउन र चर्को घाममा रिक्सा चलाउन निकै कठिन भएको उहाँ बताउनुहुन्छ । “अहिले घाम अनि तातो हावाले बिरामी नै पार्ला जस्तो भएको छ तर पेट पाल्न काम त गर्न प¥यो । मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन,” उहाँले भन्नुभयो । 

तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काममा जान पनि कठिन भएको सेवाग्राही बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । विद्यालय जाने नानीबाबुहरूलाई पनि समस्या भएको छ । यता सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनमा गएकाले विद्यार्थीहरू दिनभरि घाममा डुलेर खेलेर बिताउने गरेका छन् । 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले अत्यधिक गर्मी बढेकाले पालिकाहरूसँग समन्वय गरेर विद्यालय बिदाका लागि छलफल भइरहेको बताउनुभयो । “गर्मीबाट जोगिन सबैसित आग्रह गरिएको छ,” कबारीले भन्नुभयो, “सरकारी निकायबाट थप के गर्न सकिन्छ भनेर छलफलमै छौँ ।” चिकित्सकहरूले तातो हावा तथा लुबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्किँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् । तातो हावा तथा लुका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोश हुने, वान्ता हुनेलगायत जोखिम निम्तिन सक्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवादेखि पूर्वसप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठ वटै जिल्लाको सरदर तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापव्रmमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । मनसुनी वर्षा सुरु नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा सुरु हुन्छ भन्ने अवस्था छैन ।