काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्ने बताउनुभएको छ । शुक्रबार धरहरामा आयोजित गोरखा भूकम्पको १० औं स्मृतिसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो मात्रै होइन, विभिन्न देशमा भूकम्प जान्छ । हाम्रो जस्तो जुन विनाशकारी भूकम्प भयो, त्यस्ता भूकम्पहरू अन्त पनि जान्छन् तर केही पनि क्षति नभइकन भूकम्प टर्छ । किनभने त्यहाँका संरचनाहरू त्यसैअनुुसार छन् । अरू देशहरूमा सामुुन्द्रिक आँधी, समुन्द्रबाट अरू प्रकारका विपत्तिहरू आउने हाम्रो देशमा छैनन् ।’’
प्रधानमन्त्रीले राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड आग्रह गर्नुभयो ।
‘‘भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनर्निर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं ।’’ उहाँले भन्नुभयो ।
समुद्रका विपत्तिहरू हामी कहाँ नभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘पानी भएका खोलाका छन्, तालतलैया, ग्ल्यासियर विस्फोटका हुन सक्छन् थामेमा भएका जस्तै । यस्ता कुराहरू जलवायु परिवर्तनका समस्याहरूलाई सम्बोधन गर्ने विधिबाट पनि त्यस्ता कुराहरूलाई पनि समाधान गर्न सकिन्छ । अर्को कुरा, त्यस्ता ग्लायासियरहरूलाई कुनै बस्ती केही भइहाल्यो भने पनि त्यस्तो बस्ती तलतिर क्षति नहोस् भन्ने कुरामा ध्यान दिनुुपर्छ ।’’