दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला पेट्रोलियम पाइपलाइन विस्तारसँगै पूर्वाधार निर्माण गर्न दुई देशका सरकारबिच (जिटुजी) सम्झौता भएको थियो ।
बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उहाँको भनाइ छ ।
नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ ।
निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो ।
पछिल्लो एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार गत वर्ष पुस महिनाको दोस्रो साता प्रतितोला एक लाख चार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर चालु आर्थिक वर्षको सो अवधिमा एक लाख २२ हजार रुपियाँसम्म पुगेको छ । अमेरिका र चीनको व्यापारिक गतिरोध, रुस–युक्रेनको युद्ध, इजरायल हमासको युद्ध, विश्व आर्थिक मन्दीलगायतका कारण सुनको मूल्य लगातार बढ्दै गएको हो ।
मुलुकमा उत्पादित चियाको निर्यातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपियाँ बराबरको ७१ लाख ८१ हजार १४० किलो चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा दुई अर्ब २३ करोड २१ लाख ५२ हजार रुपियाँ बराबरको एक करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो ।
मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो ।
एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो ।
यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्य अनुसार धान खरिद गर्न नसक्ने भएको छ । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा महँगो मूल्यमा धान बिक्री भएपछि कम्पनीले नपाएपछि खरिद गर्न नसक्ने भएको हो । दशैँअघिदेखि धान खरिद प्रक्रिया सुरु गरे पनि किसान धान बिक्री गर्न नआएकाले लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ ।
विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ ।
मुलुकमा सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता (एफडिआई) आउने गरेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । तीन ठुला उद्योगमा तीन अर्ब ६६ करोड ५२ लाख ३३ हजार रुपियाँ प्रतिबद्धता आएको छ । यस्तै सात मझौला उद्योगमा दुई अर्ब ७७ करोड ५८ लाख ३० हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा दुई अर्ब रुपियाँभन्दा बढीको १७ लाख किलो अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म दुई अर्ब १५ करोड ६० लाख ९४ हजार रुपियाँ बराबरको १७ लाख ३७ हजार ११० किलो अलैँची निर्यात भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपियाँ बराबरको २४ लाख ४१ हजार १९९ किलो निर्यात भएको थियो । गत वर्षको चार महिनाको तुलनामा चालु आवको चार महिनामा अलैँची निर्यातमा १९ करोड रुपियाँले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै अलैँची निर्यात बढेको तथ्याङ्कले देखाएको छ ।
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रव्रिmया अगाडि बढाउने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो । कम्पनीले बर्दियाको राजापुरबाट आठ हजार चार सय क्विन्टल, धनगढीबाट ४८० र महेन्द्रनगर कार्यालयबाट ५३ मेट्रिक टन धान खरिद गरेको हो । अन्य जिल्लामा भने धान खरिद गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको थियो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको बताइएको छ ।
यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।