काठमाडौँ, पुस १३ गते । यस वर्ष मुलुकभर धानको उत्पादन बढ्ने भएको छ । अनुकूल मौसम, रासायनिक मलको उपलब्धता र उन्नत बिउका कारण धानको उत्पादन बढ्ने भएको हो । गत असोजमा आएको बाढीपहिरोका कारण बागमती प्रदेशमा धानमा क्षति पुगे पनि अन्य प्रदेशमा उत्पादन बढेकाले राष्ट्रियस्तरमा धानको उत्पादन बढ्ने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
गत वर्षको तुलनामा डेढदेखि दुई लाख मेट्रिक टन धानको उत्पादन बढ्ने प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले मौसम राम्रो भएको र किसानले समयमा रासायनिक मल पाएकाले धानको उत्पादन बढ्ने देखिएको जानकारी दिनुभयो । बाढीपहिरोका कारण केही प्रदेशमा धान उत्पादन घटे पनि कुनै प्रदेशमा बढेकाले समग्रमा धानको उत्पादन बढ्ने उहाँको भनाइ छ । सबै प्रदेशको धान उत्पादनको तथ्याङ्क सङ्कलन गरी कम्पाइल गर्दा उत्पादन बढ्ने देखिएको उहाँले भन्नुभयो, “धानको उत्पादकत्वमा सुधार, गत आवभन्दा मनसुन औसतभन्दा तीन दिनअगाडि सक्रिय भएका कारणले धानको उत्पादन बढ्ने देखिएको छ ।”
गत असोज १० र ११ मा आएको अविरल वर्षा र त्यसले ल्याएको बाढीपहिरो र डुबानका कारण मुलुकभर ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाएको धान बाली नष्ट भए पनि राष्ट्रिय स्तरमा उत्पादन भने बढ्ने भएको हो ।
मन्त्रालयका अनुसार गत आव २०८०/८१ मा देशभर १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यसबाट ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष कुल क्षेत्रफलको ९८.५ प्रतिशतमा धान रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा तीन प्रतिशतले बढी हो ।
धान रोपाइँको क्षेत्रफल बढेको, अनुकूल मौसम र रासायनिक मलको अभाव नहुँदा बाढीपहिरोले क्षति हुँदा पनि गत वर्षभन्दा उत्पादन बढ्ने देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँ बराबर क्षति भएको थियो । कृषि बालीमध्ये सबैभन्दा बढी क्षति धानमा पुगेको थियो । देशभरका २० जिल्लामा लगाएको धानमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको क्षति भएको थियो ।
यसैबिच कृषिप्रधान देश भए पनि अन्तरिक उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न बाहिरी मुलुकबाट आयात हुने गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को पाँच महिना (साउन–मङ्सिर) मा छ अर्ब ७३ करोड १५ लाख रुपियाँ बराबरको एक करोड ९८ लाख ५२ हजार केजी चामल आयात भएको छ । भारत, थाइल्यान्ड, इन्डोनेसिया, जापान, इटाली, भियतनाम, बङ्गलादेश, चीन, मलेसिया, फिलिपिन्सबाट चामल आयात हुने गर्छ ।