काठमाडौँ, माघ ८ गते । मुलुकको वैदेशिक व्यापार (आयातनिर्यात) दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ ।
साउनदेखि पुससम्म आयात ७.०६ प्रशितले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । बजारमा माग बढेसँगै आयातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । बजारमा आर्थिक गतिविधि चलायमान हुँदा आयातसमेत बढ्ने गर्छ ।
यस्तै छ महिनामा निर्यात ३१.७८ प्रतिशतले बढेर ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपियाँको निर्यात भएको थियो ।
भटमास र सनफ्लावर तेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । आयात ठुलो परिमाणमा भए पनि निर्यात न्यून हुँदा व्यापार घाटा ४.३८ प्रतिशतले बढेर सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपियाँ पुगेको छ ।
नेपालको कुल वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर नौ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार पुगेको छ । आयातनिर्यात सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ । छ महिनामा वस्तु तथा सेवाको आयातबाट दुई खर्ब २४ अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।
छ महिनामा भारतबाट पाँच खर्ब २८ अर्ब ५१ करोड ६० लाख रुपियाँको आयात हुँदा नेपालबाट ७३ अर्ब ७१ करोड १२ लाख ३९ हजार रुपियाँको निर्यात भएको छ । आयात ठुलो परिमाणमा भए पनि निर्यात न्यून हुँदा भारतसँग व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड ३६ लाख पुगेको छ ।
यस्तै चीनबाट एक खर्ब ६० अर्ब ५४ करोड ३१ लाख ५५ हजार रुपियाँको आयात हुँदा एक अर्ब ९२ करोड २२ लाख ६७ हजार रुपियाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड ८८ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।
छ महिनामा ५४ अर्ब ३६ करोड रुपियाँको डिजेल, ३२ अर्ब १४ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ७९ करोड ७० लाख ६३ हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । यस्तै २७ अर्ब ४८ करोड ४३ लाख २८ हजार रुपियाँको खाद्यान्न आयात भएको छ । २० अर्ब १७ करोड रुपियाँ बराबरको भटमासको कच्चापदार्थ आयात भएको छ ।
यस्तै नेपालबाट १८ अर्ब ९१ करोड ३७ लाख रुपियाँ बराबरको भटमासको तेल निर्यात भएको छ । चार अर्ब ९८ करोड रुपियाँको सनफ्लावर तेल निर्यात भएको छ । पाँच अर्ब ६१ करोड रुपियाँको कार्पेट निर्यात भएको छ । चार अर्ब ५६ करोड ६५ लाख २७ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । दुई अर्ब ९६ करोड रुपियाँको चिया निर्यात भएको छ ।