खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापी रुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ । बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८.७३ अङ्कले ओरालो लागेर दुई हजार ३०७.४४ अङ्कमा ओर्लिएको छ ।
नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सोमबार दर्ता भएको छ ।
काठमाडौं, वैशाख १९ गते । १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । 'नेप्लिज फेसन होम'द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्नुभएको हो ।सलिनालाई उपाधिसँगै एक लाख नगद र 'नेपाल क्योकुसिन सेइसिन काइकान कराँते'को सद्भावना दूत पनि नियुक्त गरिएको छ । उहाँलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिनुभएको हो । यस्तै, ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ । रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी हुनुहुन्थ्याे । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे हुनुहुन्थ्यो ।
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १९ गते । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन एमालेले सो जिम्मेवारी दिएको हो । काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा आज सम्बाेधन गर्दै संयोजक पोखरेलले भन्नुभयो, ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढङ्गले यो काम अघि बढ्छ ।’ पोखरेलले आज ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
गोकुल पराजुलीविराटनगर, वैशाख १९ गते । नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्नुभयो । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भन्नुभयो, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भीड लागेको छ ।
निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिनुभएको हो ।
नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
काठमाडौं, वैशाख १९ गते । सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध रिट दर्ताका लागि पुगेको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तिको विषयमा एआइजी विश्वराज पोखरेलको रिट दर्ताका लागि आएको जानकारी दिनुभयो । उहाँका अनुसार रिट हाल अध्ययनको क्रममा रहेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताव सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षककाे रूपमा नियुक्त गरेको थियो । महानिरीक्षक सिंहले सोमबार दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त महानिरीक्षक सिंहले फुली लगाउनुभएको हो ।
सञ्जय कुमार मिश्र गौर, वैशाख १९ गते । नेकपा एकिकृत समाजवादीको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकासको एजेण्डालाई पहिलो प्राथमिकताको सूचीमा राखेको बताउनुभएको छ । रौतहटको गौर नगरपालिकाको महादेवपट्टीमा सोमबार विहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।अध्यक्ष नेपालले नेपालमै गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, कृषि प्रणालीलाई वैज्ञानिकीकरण, स्वच्छ खानेपानी, बेरोजगारलाई रोजगारीको व्यवस्थापन, महिलालाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने चर्चा गर्नुहँदै उहाँले वृद्धवृद्धालाई समाजिक सुरक्षाको भत्ता रकममा वृद्धिसहितका यहाँको जनतालाई समृद्ध बनाउने हर उपायहरु कार्यान्वयन गरिने कुरामा जोड दिनुभयो ।देश बनाउने, समाज परिवर्तन, सांस्कृतिक परिवर्तनसँगै कृषि आधुनिकरण र व्यवसायिक गर्न तथा सहकारीको बढावा दिनुपर्ने अभियानका साथ नेकपा एस अगाडि बढिरहेको धारणा राख्दै उहाँले विगतको आन्दोलनबाट प्राप्त उपलब्धि एवं संविधानको रक्षाकालागि नयाँ शक्ति, नयाँ संकल्प तथा कम्युनिष्ट आन्दोलनको मर्म भावनालाई अगाडि बढाउने दृढताका साथ नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिएको प्रष्ट पादैृ अध्यक्ष नेपालले अहिले देशमै नेकपा एसमा प्रवेश गर्नेहरुको लहर बढेको दावी गर्नुभयो ।सो कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा. वंशिधर मिश्र, मधेश प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री नागेन्द्र चौधरी, गौर नगरपालिकाका उम्मेदवार शम्भु साहसहितका नेताहरुको सहभागिता रहेको थियो ।
धादिङको ‘गल्छी रसुवागढी’ पुग्ने सडक खण्डको आधा काम सकिएको छ ।
काठमाडौं, वैशाख १८ गते । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो । ‘‘अहिलेको प्रथमिकता भनेको स्थानीय तह निर्वाचन हो । निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट प्रत्येक नागरिकले आफ्नो बालिक मताधिकार प्रयोग गर्न सक्ने र निर्वाचन सुरक्षा योजनाहरु सम्पूर्ण प्रहरी र स्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ ।,’’ उहाँले भन्नुभयो । साथै, उहाँले नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘‘मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने, विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो । त्यस्तै, राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवान र सम्पूर्ण सदस्य प्रतिबद्ध रहेको उहाँको भनाइ छ । नेपाल प्रहरीले प्रवाह गर्ने सेवाको गुणस्तरीय र प्रभावकारिता बढाउन कर्मचारीहरुको वृद्धि विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै साङ्गठनिक सुदृढीकरणमा जोड दिनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।महानिरीक्षक सिंहले सहरकेन्द्रित अपराधका चुनौती सामना गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।