राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
महिला ओपन गल्फ प्रतियोगिताको उपाधि सुस्मा सिग्देलले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा शनिबार भएको १८ होल स्पर्धामा सुस्माले ४० अंक जोड्नुभयो । स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप विधामा भएको प्रतियोगितामा सुस्माले उपविजेता कस्मिरा शाहलाई दुई अंकले पछि पार्नुभयो । दोस्रो हुनुभएको शाहले ३८ अंक जोड्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीपातीकाबेला किसानले मल नपाउनु विडम्बना भएको भन्दै तत्काल यथोचित प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले मल ल्याउने मीठो कुरा गरेपनि अहिलेसम्म केही व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो ।
पाँचथर, असार १८ गते । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित हुनुभएको हो । शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गर्नुभयो । उक्त सम्मान पुरस्कारको राशि ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्वध्यक्षसमेत रहनुभएका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पु¥याउनुभएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो । सम्मानपछि अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारी बोध गराएको बताउनुभयो । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आबद्ध भई समाजको हितमा काम गरिरहन थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताउनुभयो । पत्रकारले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष झाले पत्रकार आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहार्य रहेको बताउनुभयो ।पत्रकारितालाई थप विश्वासनीय र मर्यादित बनाउँदै खबरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाइ थियो। विसं २०२३ चैत ४ गते सिरहाको लहान नगरपालिका–१४ मा जन्मनुभएका झाले २०४३ देखि पत्रकारिता थाल्नुभएको हो । तीनवटा विषयमा स्नातकोत्तर गर्नुभएका झाले ५० वटाभन्दा बढी सङ्घसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागितासमेत जनाउनुभएका उहाँले १७ अवार्ड प्राप्त गर्नुभएको छ । उहाँ गोरखापत्र राष्ट्रिय दैनिकको नियमित स्तम्भकारसमेत हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्वसभापति लवदेव ढुङ्गानालाई दोस्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेबापत प्राप्त गरेको रु ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो । विसं २०६९ मा स्थापित पुरस्कार २०७२ सालदेखि प्रदान गरिँदै आएको छ । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा महेन्द्र विष्ट सम्मानित भइसक्नुभएको छ । कार्यक्रममा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समितिका पाँचथर संवाददाता रवीन्द्र काफ्ले र उत्कृष्ट खोजमूलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपका लक्ष्मी गौतमलाई जनही पाँच हजार नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ । यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले प्रदान गर्ने हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका पाँचथर संवाददाता खबिन लुइँटेल र प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती पुरस्कृत हुनुभएको छ ।
काठमाडौं, असार १८ गते । थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा 'साबिती' मा आधारित भएर नाटक मञ्चन गरेको छ । विमल सुवेदीको परिकल्पना र निर्देशन, जेनी सुनुवारको सहायक निर्देशनमा नाटक मञ्चन भएको हो । नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार हुनुहुन्छ जो नेपाली रङ्गमञ्चकी एक प्रत्यक्ष सारथी हुन् । 'साबिती’ नाटक थिएटर भिलेजले यसअघि २०७० सालमा 'सत्यमोहन जोशी नाटकघर' उद्घाटन गर्दा पहिलो पटक मञ्चन गरेको थियो । तर, प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको सहकार्यमा साउथ 'एसियन युनिभर्सिटीमा' मञ्चन भएको थियो ।त्यही वर्ष भारतकै जम्बुमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो । हिन्दी भाषामा रुपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समय अनुकूल हुने गरी पुनः रुपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रुपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गर्नुभएकाे हाे ।धेरै पहिले लेखिएको भए पनि 'साबिती' कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरुप देखाउने निर्देशक विमल सुवेदी बताउनुहुन्छ । उहाँका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो । तर, पहिलो प्रस्तुति रोकिएपछि पुनः प्रस्तुति हुनुअघि घिमिरेको निधन भयो । 'नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्यअनुरुप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ,' उहाँ भन्नुहुन्छ।अभिनयका लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिजुअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार भन्नुहुन्छ, 'यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरुप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनीतिक विसङ्गति अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारीकरणलाई उदाङ्गो पारेको छ ।' थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक 'पल्पसा क्याफे' पनि मञ्चन गरेको थियो ।
काठमाडौं, असार १८ गते । नेपाली चलचित्र 'प्रसाद २' निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने चलचित्रकाे निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ। चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लाग्नुभएको हो । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाउनुभयो । सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले 'प्रसाद २' झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ ।
कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने सङ्केत गर्नुभएको छ । नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको हो ।
विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब थेग्न आयात घटाउनुपर्ने अर्थविद्हरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था विषयक’ छलफल कार्यक्रममा अर्थविज्ञहरूले मुलुकको आर्थिक अवस्था बिग्रिसकेको नभए पनि यसप्रति सजग रहन आग्रह गरेका हुन् । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले अत्यावश्यक बस्तु र सेवाबाहेकका आयातमा कडाइ गर्नुपर्नेमा अर्थविज्ञहरूले जोड दिएका छन् ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुमगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुग्नुभएको छ ।
हावाको वेग सरी फेसन पनि परिवर्तन भइरहेको हुन्छ । कहिले कुन फेसन आउँछ त कहिले कुन । अहिले युवतीमाझ बुट्टेदार स्कर्ट फेसनमा आएको छ । लामो स्कर्ट, चेक प्रिन्ट, बेल्ट र फूलबुट्टा डिजाइनमा निकै रुचाइएको व्यापारीहरूको भनाइ छ ।
विद्युतीय पोल भाडाको विवाद समाधानका लागि सरोकारवालाले सहकार्य र सहप्रयोगलाई जोड दिएका छन् । इन्टरनेट विस्तारमा विद्युतीय पूर्वाधारको योगदान सम्बन्धमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले पोलभाडा विवाद नसुल्झिए त्यसको असर उपभोक्तालाई पर्ने भन्दै सामूहिक प्रयत्नको खाँचो आवश्यक रहेको बताएका हुन् ।
सिनेमा घरहरूमा भोजपुरी चलचित्र ‘रण’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।निर्देशक चन्द्र पन्तको निर्देशनमा रहेको भोजपुरी चलचित्रले तीन दर्जनभन्दा बढी हलबाट नेपालमा प्रदर्शनको सुरुवात गरेको हो । चलचित्रमा अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सीपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रलगायतको अभिनय छ ।